मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

लोकसेवा विज्ञापन कानुनसम्मत : मन्त्री पण्डित

लोकसेवा विज्ञापन कानुनसम्मत : मन्त्री पण्डित


काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जनशक्ति व्यवस्थापनका लागि स्थानीय तहले मागेको विज्ञापनका आधारमा सरकारले लोकसेवा आयोगलाई विज्ञापन गर्न अनुरोध गरेकाले उक्त विज्ञापन संविधान र कानूनबमोजिम भएको स्पष्ट पारेका छन् । 
 
उनले संविधानले दिएको अधिकार र आयोगले आफ्नो संवैधानिक अधिकारबमोजिम काम सन्पन्न गर्ने विश्वास व्यक्त गरे । 
 
लोकसेवा आयोगको विज्ञापन किन समावेशी भएन भन्ने सांसदहरुको जिज्ञासामा उनले ‘लोक सेवा आयोग संवैधानिक अङ्ग भएकाले उसले संविधान र प्रचलित निजामती ऐनबमोजिम विज्ञापन गरेको जवाफ दिँदै यसबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले अहिले थप केही भन्न नसकिने बताए । 
 
उनले सङ्घीय निजामती ऐन संसदीय समितिमा विचाराधीन रहेको र यसले पूर्णता नपाउँदासम्म सङ्क्रमणकालको व्यवस्थापनका लागि अनुमति दिएको उल्लेख गरे ।
 
“ऐन पारित भएपछि समावेशितालगायत मुद्दाको व्यवस्थापन हुन्छ । कर्मचारीलाई आवश्यकताअनुरुप बढी प्रतिफल दिनेगरी प्रचलित कानून परिचालन गर्ने व्यवस्था गर्दैछौँ, यसले प्रशासनमा सुशासन, सरुवा बढुवामा निष्पक्षता र व्यवस्थित प्रणाली अपनाउने दिशामा केन्द्रित हुनेछ”, मन्त्री पण्डितले भने । 
 
सरकारले समावेशी, समानुपातिक प्रणालीलाई लत्याउने नभई बरु संविधानले अङ्गीकार गरेको हकअधिकार उपयोग गरेर निजामती ऐन छिटो संसद्बाट पारित गराउनेतर्फ केन्द्रित रहेको उनको भनाइ थियो । प्रदेश तथा स्थानीय तहमा कर्मचारी समायोजन भई सेवा प्रवाह भइसकेको जानकारी गराए ।
 
मन्त्री पण्डितले भने, “संविधान र कानून विपरीत कुनै पनि काम गर्नेछैन । कर्मचारीको नियुक्ति तथा सरुवा बढुवा प्रचलित कानूनबमोजिम भइरहेको छ । नातावाद र कृपावाद केही चल्दैन ।”
 
प्रदेश सरकार र स्थानीय सरकारलाई पनि जिम्मेवार बनाउने गरी बहुवर्षीय आयोजनाका कार्यक्रम बजेटमा समावेश गरिएकाले बजेट केन्द्रमुखी नभएको मन्त्री पण्डितको दाबी थियो । 
 
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक–२०७५ माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै  उनले सेवा प्रवाह र विकास निर्माणलाई गति दिन निजामती प्रशासनलाई थप चुस्त–दुरुस्त बनाउन आवश्यक कार्यक्रम बजेटमा समेटिएको उल्लेख गरे ।
 
उनले कर्मचारी प्रशासनलाई सुशासन र विकासमैत्री बनाउन दण्ड तथा पुरस्कारको मापदण्ड बनाउन समिति गठन गरिएको, निजामती कर्मचारीको तहअनुरुप तलबमान वृद्धि र सेवासुविधा निर्धारण गरिएको उल्लेख गरे ।