मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नर्सिङहोमको लापरबाहीले बिरामीको मृत्यु, स्थिति तनावग्रस्त

नर्सिङहोमको लापरबाहीले बिरामीको मृत्यु, स्थिति तनावग्रस्त


विराटनगर । पाठेघरसम्बन्धी बिरामी एक महिलाको उपचारको क्रममा आज मृत्यु भएपछि विराटनगर–२ मुनालपथस्थित विराट नर्सिङहोम तनावग्रस्त भएको छ ।
 
मोरङको सुन्दरहरैचा नगरपालिका विराटचौक घरभएकी ३८ वर्षीया चेलीमाया भनिने प्रिती कोइरालाको उपचारको क्रममा मृत्यु भएपछि आफन्तले लापरवाही गरेको आरोप लगाउँदै नर्सिङहोमको गेटमा ताला लगाउनुका साथै सामान्य तोफोडसमेत गरेका छन् ।
 
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीको टोलीले नर्सिङहोममा सुरक्षा दिनुका साथै लगाइएको ताला खोलेको छ । नर्सिङहोम प्रशासनले सङ्क्रमणका कारण बिरामीको मृत्यु भएको हो र यसमा चिकित्सकको कुनै लापरबाही नरहेको जनाएको छ । 
 
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले अहिले स्थिति सामान्य रहेको र दुवै पक्षबीच वार्ताको तयारी भइरहेको जानकारी दिए । बिरामीको उपचारको करीब २८ घण्टापछि कोइरालाको मृत्यु भएको थियो ।
 
चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको विरोधमा विराटनगर–धरान सडकखण्डमा  टायर बालेर अवरुद्ध गर्न खोज्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।