मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काँग्रेस जागरण अभियानमा दुई हजार बढी कार्यक्रम

काँग्रेस जागरण अभियानमा दुई हजार बढी कार्यक्रम


काठमाडौँ । नेपाली काँग्रेसले ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान’ अन्तर्गत प्रथम चरणको कार्यक्रममा मुलुकभर दुई हजारभन्दा बढी कार्यक्रम आयोजना गरेको छ । 
 
एक महिनाको अवधिमा जिल्ला, क्षेत्र र गाउँ–नगरस्तरीय कार्यक्रमसँगै अन्य विषयगत भेला र कार्यक्रम तथा वडास्तरमा बैठक, भेला, आन्तरिक सभा, खुला सभा, ¥याली, विचार–बहसलगायत कार्यक्रम सम्पन्न भएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 
 
जागरणको प्रथम चरण गत वैशाख २५ गते प्रारम्भ भएर यही जेठ २५ गते सम्पन्न भएको थियो । प्रथम चरण र आगामी कार्यक्रमबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले कार्यक्रमहरूमा पार्टीका विभिन्न तहका नेता कार्यकर्ता, शुभचिन्तक, बुद्धिजीवी, व्यवसायी लगायतको सहभागिता रहेको बताए । 
 
अभियानलाई व्यवस्थित बनाउन पार्टीले ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको थियो । प्रथम चरणको जागरण अभियानलाई पछिल्लो समय कुनै पनि राजनीतिक दलद्वारा जनस्तरमा प्याकेजमा अघि सारिएको बृहत् र नवीन एक मात्र कार्यक्रमका रूपमा काँग्रेसले व्याख्या गरेको छ । 
 
अभियानका क्रममा स्थानीय तहसम्म बृहत्स्तरमा संवाद, विषय सम्प्रेषण र सुझाव संकलन हुनाका साथै गणतन्त्र, सङ्घीयता, सुशासन र समृद्धि जस्ता आम सरोकारका विषयहरूमा बौद्धिक छलफल भएको थियो ।  
 
विभिन्न पार्टीका ३१ हजार ६४२ काँग्रेसमा प्रवेश  
 
प्रवक्ता शर्माले भने, “काँग्रेसले आफूलाई नवीन ढङ्गले अघि बढाएर संविधान, सङ्घीयता र लोकतन्त्रको रक्षा एवं संवद्र्धनको भूमिका निर्वाह गर्नुपर्ने आम अपेक्षा देखिएको छ ।”
 
सोही आशा र विश्वासको भावनाका साथ काँग्रेसमा समाहित हुन चाहने आकाङ्क्षा जागरण अभियान क्रममा देशव्यापी देखिएको सो पार्टीले जनाएको छ । अभियान क्रममा सत्तारूढ पार्टी एवं अन्य विभिन्न पार्टीबाट देशभरिका कार्यक्रममार्फत ३१ हजार ६४२ काँग्रेसमा प्रवेश गरेका छन् । 
 
प्रवेश गर्नेमा साधारण सदस्यतादेखि जिल्ला र गाउँनगरमा महत्वपूर्ण जिम्मेवारी सम्हालेका अन्य पार्टीका नेता कार्यकर्तासमेत रहेको उहाँले जानकारी दिए । उनीहरूलाई पार्टीले आवश्यक प्रशिक्षणपश्चात् उपयुक्त जिम्मेवारी प्रदान गर्नेछ । 
 
अभियानका क्रममा पार्टीलाई घरेलु जीवन र राष्ट्रिय राजनीतिको भूमिकाका सन्दर्भमा महत्वपूर्ण सुझावहरू प्राप्त भएका छन् । काँग्रेसलाई सुदृढ र नवीन बढाउँदै अघि बढ्न जागरण अभियान क्रममा औँल्याइएका कमजोरी आत्मसात् गर्दै, तिनलाई क्रमशः निराकरण गर्दै काँग्रेस अघि बढ्ने जनाइएको छ । 
 
अभियानसँगै जिल्ला सम्पर्क समितिहरूको संयोजनमा काठमाडौँमा मासिक रूपमा नियमित रक्तदान कार्यक्रम प्रारम्भ भएको छ । यही जेठ २३ मा भएको प्रथम रक्तदानमा ७३ व्यक्तिले रक्तदान गरेर ‘काठमाडौँका अस्पतालहरूमा रगतको अभाव हुन नदिने’ घोषणा गरिएको छ । असारको अन्तिम शनिबार दोस्रो रक्तदान आयोजित हुनेछ । 
 
असार तेस्रो साता केन्द्रीय समितिको बैठक 
 
जागरण अभियानको दोस्रो चरण आगामी भदौ २४ गते (विपी जयन्तीका दिन) प्रारम्भ भई असोज ७ गतेसम्म चल्नेछ । प्रथम चरणका खटिनुभएका केन्द्रीय प्रतिनिधिले आगामी असार १४ गतेभित्र आफ्नो लिखित प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने निर्देशन गरिएको छ । 
 
पार्टी नेतृत्व र केन्द्रीय प्रतिनिधिबीच विशेष विर्मश गरी जागरण अभियानको प्रथम चरणको समीक्षा, अन्य आवश्यक सन्दर्भ र समसामयिक मुद्दामा केन्द्रित रहेर काँग्रेस केन्द्रीय समितिको बैठक असार तेस्रो सातामा बस्नेछ । 
 
जागरण अभियानको दोस्रो चरण प्रवेशपूर्व नै नेपालको संविधान र काँग्रेसको संशोधित विधानबमोजिमको सम्पूर्ण संरचनाहरू निर्माण गरिने प्रवक्ता शर्माले जानकारी दिए । 
 
नेपाल विद्यार्थी सङ्घलगायतका भ्रातृ संस्थाहरूबारे पनि आवश्यक निर्णय यथाशीघ्र लिइने उनले बताए । अभियानको दोस्रो चरण पूर्व काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको नेतृत्वमा विभिन्न तहमा प्रशिक्षणका कार्यक्रम गरिनेछन् ।