मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गृहकार्य नपुगेको मिडिया विधेयक परिमार्जन हुन्छ : प्रचण्ड

गृहकार्य नपुगेको मिडिया विधेयक परिमार्जन हुन्छ : प्रचण्ड


चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिडिया विधेयकलाई परिमार्जन गरेर अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । प्रेस संगठन नेपालले अयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारले ल्याएका कतिपय विधेयकमा आवश्यक गृहकार्य नपुगेको बताए । 
 
दाहालले भने, “मिडिया विधेयकलाई पनि आवश्यक परिमार्जन गरेरै अघि बढ्नुपर्छ भन्ने छ ।” सरकारले विधेयक ल्याउँदा तयारी राम्रो नपुगेको भन्दै उनले थपे, “जति गृहकार्य भएर विधेयक आउनु पथ्र्याे, केही कमीकमजोरी रहेकै देखियो । पक्कै पनि सरकार पार्टी यसमा सतर्क भएको छ ।” आउँदा दिनमा यस्ता विधेयक ल्याउँदा पर्याप्त गृहकार्य गरेर ल्याइने दाहालले बताए । 
 
सरकारको नेतृत्वको सम्बन्धमा पत्रकारले राखेको जिज्ञासामा यो विषय नयाँ नभएको प्रतिक्रिया उनले दिए । दाहालले भने, “मिडियामा बढ्ने नयाँ कुराजस्तो गरी प्रचार भइरहेको छ । यो कुरा पुरानै हो । हामी जुन सहकार्य र सहमतिका साथ अघि बढेका छौँ त्यहीअनुसार अघि बढ्छौँ ।” 
 
अर्को एक प्रसंगमा अध्यक्ष दाहालले यहाँ बन्न लागेको रंगशालामा सरकारले सहयोग गर्ने बताएका छन् । आफैँले प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेट गरी यस्ता रंगशालालाई सरकारले प्रोत्साहन गर्ने भनी नीति तथा कार्यक्रममा समावेश गरेको जानकारी दिए । उनले भने, “मैले त्यसरी नीति तथा कार्यक्रममा राख्नुको मनसायचाँहि चन्दाले मात्रै ठूला आयोजना नहुन सक्छ । सरकारले सहयोग गर्नुपर्छ भनेर हो ।” 
 
रंगशालालाई सहयोग गर्ने सरकारको आधार तयार गरिएको उनले प्रष्ट पारे । धुर्मुस–सुन्तली फाउन्डेसनले यहाँ निर्माण गर्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्थानीयले बार भत्काएपछि हाल काम रोकिएको छ । 
 
अध्यक्ष दाहालले पार्टी एकता प्रक्रियामा टुंगो लाग्न बाँकी रहेका इञ्चार्ज, सहइञ्चार्ज, ज्येष्ठ कम्युनिष्ट मञ्च, सल्लाहकार समिति, आयोगलगायत एकैसाथ प्याकेजमा टुंगो लाग्ने बताए । अर्को एक प्रश्नमा उनले प्रदेश नम्बर ३ को अस्थायी राजधानीलाई कमसेकम पाँच वर्षका लागि त्यहीँ राख्ने कि भन्ने विषयमा छलफल भइरहेको जानकारी दिए ।