मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चार महिनादेखि नेविसंघ नेतृत्वविहीन, तदर्थ समिति गठन अनिश्चित

चार महिनादेखि नेविसंघ नेतृत्वविहीन, तदर्थ समिति गठन अनिश्चित


काठमाडौँ । नेपाली कांग्रेसको भातृसंस्था नेविसंघका अध्यक्ष नैनसिंह महरको राजीनामापश्चात् विगत चार महिनादेखि नेविसंघ नेतृत्वविहीन बनेको छ । 
 
एघारौँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष महरले १२ औँ महाधिवेशन गर्न नसकेपछि ०७५ माघ २८ मा राजीनामा दिएका थिए । त्यसयता नेतृत्वविहीन रहेको नेविसंघको अहिलेसम्म तदर्थ समिति बन्न सकेको छैन । 
 
मुलुकमा भएका विभिन्न राजनीतिक र शैक्षिक आन्दोलनमा अग्रमोर्चामा उभिएर काम गरेको नेविसंघको नेतृत्व नहुँदा पार्टीलाई समेत ठूलो समस्या उत्पन्न भएको छ । 
 
विसं २०२७ वैशाख ७ गते पार्टी प्रतिबन्धित अवस्थामा रहेको बेला स्थापना भएको नेविसंघमा अहिलेको अवस्थासम्म आइपुग्दा १८ जनाले नेतृत्व सम्हाल्ने मौका प्राप्त गरेका छन् । 
 
नेविसंघको पहिलो अध्यक्ष विपीन कोइराला हुन् । स्थापनाकालदेखि हालसम्म आइपुग्दा छ अध्यक्ष निर्वाचित, सात अध्यक्ष तदर्थ र पाँच अध्यक्षले सर्वसम्मत नेतृत्व सम्हालेका छन् । 
 
नेविसंघका पूर्वकेन्द्रीय सदस्य लीलावल्लभ दाहाल ‘काका’ पार्टी नेतृत्वले नै पार्टीको महाधिवेशनसम्म नेविसंघको महाधिवेशन गर्न नचाहेको बताउँछन् । “पार्टीले विद्यार्थी हक र हितमा खट्ने इमान्दार विद्यार्थीलाई समावेश गरेर तत्काल तदर्थ समिति गठन गर्नुपर्छ”, उनी भन्छन् । पार्टीका नेताको गैरजिम्मेवारीपनका कारण तदर्थ समिति गठन हुन नसकेको उनको भनाइ छ । 
 
नेविसंघका निवर्तमान उपाध्यक्ष उर्मिला थपलिया पार्टीले तत्काल महिलाको नेतृत्वमा तदर्थ समिति बनाएर महाधिवेशनमा जानुपर्ने बताउँछन् । “नेविसंघमा अहिलेसम्म धेरै पुरुष नेतृत्वमा पुगेका छन्, अहिले महिलालाई तदर्थ समितिको अध्यक्ष बनाएर महाधिवेशनमा जाँदा पार्टीलाई अरु राजनीतिक दल र काग्रेसले हेर्ने नजरमा पनि फरक पर्छ”, उनी भन्छन् । 
 
नेविसंघका निवर्तमान सहमहामन्त्री प्रेमराज जोशी पार्टीले ३२ वर्ष कम उमेरका विद्यार्थीलाई अध्यक्ष बनाएर तत्काल तदर्थ समिति गठन गर्नुपर्ने बताउँछन् । उनी भन्छन्, “विधानमा उल्लेख भएअनुसार तत्काल १०१ सदस्यीय समिति बनाएर केन्द्रीय महाधिवेशनमा नेविसंघ जानुपर्छ ।”
 
नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्ण पार्टीले तत्काल तदर्थ समिति बनाएर छ महिनाभित्र महाधिवेशन गरिसक्नुपर्ने बताउँछन् । वडा तह, स्थानीय तह, जिल्ला तह, प्रदेश तह र केन्द्रको निर्वाचनको कार्यतालिका र कार्ययोजना बनाएर नेविसंघको महाधिवेशन तत्काल गर्नुपर्ने उनको भनाइ छ । 
 
नेविसंघका पूर्वअध्यक्ष एवं पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेलले लोकतन्त्र र शिक्षाका लागि लडेको विद्यार्थी यो अवस्थामा आइपुग्नु दुःखद भएको बताए । “नेविसंघलाई अनावश्यक हस्तक्षेप गरेर पार्टी संगठन बलियो हुन सक्दैन, त्यही समितिलाई अहिलेसम्म काम गर्न दिएको भए धेरै जिल्लाको अधिवेशन गर्न सक्थ्यो”, उनी भन्छन् । तत्काल नेविसंघको महाधिवेशन गर्नका लागि विभिन्न क्षेत्रका व्यक्तिको सहभागितामा निर्वाचन समिति बनाएर अगाडि जानुपर्ने उनको भनाइ थियो । 
 
नेविसंघको ४८ वर्षको इतिहासमा विसं २०५९ सालमा तत्कालीन नेविसंघका अध्यक्ष विश्वप्रकाश शर्माले समयमा महाधिवेशन गरेर गुरुराज घिमिरेलाई नेतृत्व हस्तान्तरण गरेका थिए भने अरु अध्यक्षहरूले समयमा अधिवेशन गर्न सकेनन् । 
 
विपीन कोइराला, शेरबहादुर देउवा, ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, बालकृष्ण खाँण, धनराज गुरुङ, गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, किशोरसिंह राठौर, महेन्द्र शर्मा र रञ्जित कर्णले सर्वसम्मत तथा महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गरेका थिए । यस्तै, विमलेन्द्र निधि, एनपी साउद, गुरु घिमिरे, प्रदीप पौडेल र नैनसिंह महर भने निर्वाचनबाट जितेर अध्यक्ष बने पनि महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्न सकेनन् ।
 
पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मा नेविसंघभित्र तदर्थ समिति बनाउने कुरामा पार्टीभित्र विभिन्न चरणमा छलफल भइरहेको बताउँदै चाँडो नै टुङ्गो लाग्ने बताउँछन् । “विधान र प्रक्रियाअनुसार नै नेविसंघको तदर्थ समिति बन्छ”, उनी भन्छन् । नेविसंघको समिति नहुँदा पार्टीले भर्खरै सम्पन्न गरेको पहिलो चरणको हिमाल, पहाड, तराई–मधेस नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियानमा समेत समस्या परेको छ । 

शेयर गर्नुहोस:

0
Shares