नेपाल

धर्मसापेक्ष राष्ट्र घोषणा गर्न माग

धर्मसापेक्ष राष्ट्र घोषणा गर्न माग


काठमाडौँ । ॐकार परिवारअन्तर्गतका विभिन्न धर्मका गुरुले धर्मसापेक्ष राष्ट्र घोषणा गर्न माग गरेका छन् । मानिसमा सामाजिक सदाचार, नैतिकता आदि गुणको विकास गर्न पनि धर्मसापेक्ष राष्ट्र हुनुपर्नेमा जोड दिइएको हो । 
 
हिन्दू, बौद्ध, शिख, जैन र किराँत धर्मका गुरुले निरपेक्षतासँगै परम्परादेखि चली आएको नेपाली मौलिक संस्कृतिमाथि आक्रमण बढेको बताए ।
 
योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्लगायत १०० वटा धार्मिक संस्थाले आज माइतीघर मण्डलामा आयोजना गरेको कार्यक्रममा धर्म निरपेक्षतासँगै देशमा सदाचारी भावना कमजोर हुँदै गएकाले भ्रष्टाचार रोक्न पनि धर्मप्रतिको आस्था वृद्धि गरिनुपर्ने माग गरियो । 
 
कार्यक्रममा पूर्वमन्त्री बालाराम घर्तीमगर, नित्य पशुपति आरती समूहकी संस्थापक अध्यक्ष उर्मिला भण्डारी, सनातन धर्म सेवा समितिका उपाध्यक्ष कृष्णकिशोर त्रिपाठी, बौद्ध धर्मगुरु शिव अवतारी लामा र बुद्ध लामा, शिख सम्प्रदायका सन्त पुष्पदास, तपस्वी भगवती माता, महिला सन्त समूहकी अध्यक्ष सावित्री गिरी लगायतले धार्मिक अतिक्रमण, प्रलोभनका आधारमा भइरहेको धर्मान्तरण रोक्न पनि धर्मसापेक्ष राष्ट्र घोषणा गरिनुपर्नेमा जोड दिए । 
 
यसैगरी माओवादी जनयुद्धका पूर्व लडाकु प्रकाश पाण्डे, परिषद्का अध्यक्ष शङ्कर पौडेल लगायतले धर्मविना देश विकास हुन नसक्ने बताउँँदै एनसेलका लाभकर असुली नहुनेजस्ता घटना आध्यात्मिक भावनाको कमीले भएको बताए । 
 
प्रहरी हिरासतभित्र भ्रष्टाचारविरोधी अभियन्ता ज्ञानेन्द्र शाहीमाथि भएको यातनाजस्ता घटना मानवीय संवेदना कमजोर बनेको प्रमाणित हुने उनीहरुको भनाइ थियो ।