मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मिडिया काउन्सिल विधेयकको विरोधमा पत्रकारको हातेसाङ्लो प्रदर्शनी

मिडिया काउन्सिल विधेयकको विरोधमा पत्रकारको हातेसाङ्लो प्रदर्शनी


काठमाडौँ । नेपाल पत्रकार महासंघले सरकारले संसद्मा पेश गरेको मिडिया काउन्सिल विधेयकको विरोधमा शनिबार ‘हातेसाङ्लो प्रर्दशन गरेको छ ।
 
बबरमहलमा दिउँसो ३ बजेदेखि ४ घण्टासम्म हातेसाङ्लो प्रर्दशन गरेको थियो । प्रदर्शनमा विभिन्न सञ्चारमाध्यमका पत्रकार सहभागिता रहेको थियो । सबै पत्रकारले हातहात जोडेर प्रदर्शन गरेका थिए ।
 
प्रदर्शनमा ‘प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर’, ‘मिडिया काउन्सिल विधेयक खारेज गर’, ‘प्रेस स्वतन्त्रताको सम्मान गर’, ‘संविधानको प्रस्तावको सम्मान गर’ जस्ता लेखिएका प्लेकार्ड बोकेका थिए । 
 
प्रदर्शनमा आयोजित सभामा महासङ्घका अध्यक्ष गोविन्द आचार्यले संविधानले प्रदत्त गरेको स्वतन्त्रता हनन हुने गरी विधेयक ल्याइएकाले खारेज वा संशोधन गर्नुपर्ने बताए ।
 
उनले विधेयकको संशोधनका लागि महासंघले राखेका १६ बुँदालाई सम्बोधन गर्नुपर्ने भन्दै विधेयक संशोधन वा फिर्ता नभए सरकारविरुद्ध थप सडक आन्दोलन गर्ने बताए ।
 
प्रदर्शनीमा महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झा, डा सुरेश आचार्य, कान्तिपुर दैनिकका प्रधानसम्पादक नारायण वाग्ले, नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेल, देशसञ्चार डटकमका प्रधानसम्पादक युवराज घिमिरेले प्रेस स्वतन्त्रता विरोधी विधेयक रहेकाले संशोधन गर्नुपर्ने बताए । 
 
उनीहरुले विधेयकमा रहेको कतिपय कुराले सूचनाको हकलाई पनि निस्तेज पार्न खोजिएकाले संशोधन गर्नुपर्ने बताए । संसद्मा पेश भएको विधेयकको विरुद्धमा महासंघले देशभर चरणवद्ध विरोधका कार्यक्रम गर्दै आइरहेको छ ।