चितवन । चितवनको भरतपुर–१५, रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि चितवन प्रहरीले सुरक्षा दिने भएको छ ।
असुरक्षाका कारण काम प्रभावित भएका कुराहरु बाहिर आएपछि प्रहरीले पूर्णरुपमा सुरक्षा प्रदान गर्न लागेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपेन्द्र शाहले एक विज्ञप्ति जारी गर्दै रंगशालाको सुरक्षाका लागि सोही स्थानमा सुरक्षा बेस रहनेगरी हाललाई प्रहरी नायब निरीक्षकको कमाण्डमा २४ सै घन्टा प्रहरी टोली खटाइएको जानकारी दिएका छन् ।
उनले जिल्ला प्रशासन कार्यालयलगायत जिल्लास्थित सबै सुरक्षा निकायहरुबाट समेत निरन्तर अनुगमन र सुपरीवेक्षणको व्यवस्था मिलाइएको जानकारी दिए ।
चितवन प्रहरीले निर्माणाधीन रंगशाला राज्यकै गौरव बोक्ने अन्तराष्ट्रियस्तरको भएकोले यसको निर्माणदेखि सञ्चालनसम्मको सम्पूर्ण कार्यमा सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउने प्रतिबद्धता जनाएको छ ।
रंगशालामा पछिल्लो घटनाक्रमले असुरक्षाका कारण काम प्रभावित भएको र सुरक्षाको प्रत्याभूति नभए काम सुचारु गर्न नसक्ने धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले विज्ञप्ति जारी गरेपछि जिल्ला प्रशासन, सुरक्षा निकाय र सर्वदलीय बैठकले काम अघि बढाउन आग्रह गरेको थियो ।
सोहीबमोजिम चितवन प्रहरीले सुरक्षाको प्रत्याभूति दिलाउन सुरक्षाकर्मीको बेस स्थापना गरेको हो ।
स्थानीयले बाटोको विवादमा गत जेठ १५ गते गणतन्त्र दिवसकै दिन बिहान रंगशालाको तारबार डोजर लगाएर भत्काएपछि रंगशालाको निर्माणको काम प्रभावित भएको थियो । पक्राउ परेका केही व्यक्तिको रिहाइका लागि स्थानीयले अझै पनि धर्ना कार्यक्रम जारी राखेका छन् ।






प्रतिक्रिया