मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संगठन शुद्धीकरण गर्न गाउँगाउँमा कांग्रेस, जनता उत्साहित

संगठन शुद्धीकरण गर्न गाउँगाउँमा कांग्रेस, जनता उत्साहित


ओखलढुंगा । नेपाली कांग्रेसको जागरण अभियानले सर्वसाधारण नागरिकमा उत्साह जागेको छ । वर्तमान स्थानीय, प्रदेश र संघीय सरकारको गतिविधिप्रति आजित बनेका नागरिकहरु नेपाली कांग्रेसले जनजागरण अभियान लिएर गाउँ पसेसँगै सर्वसाधारणमा उत्साह जागेको हो । 
 
कांग्रेसले देशव्यापी चुनाव हारेपछि नागरिकसँग प्रत्यक्ष भेटेर पार्टीप्रतिको धारणाका बारेमा जानकारी लिने, चुनावी हारको समीक्षा गर्ने, सदस्यता अध्यावधिक गर्ने, पुराना नेताहरुको बायोग्राफी तयार गर्ने र संगठन शुद्धीकरणसँगै सदृढीकरण गर्ने अभियान लिएर गाउँगाउँ पुगेको थियो ।
 
चुनाव हारे पनि चुनावी अभियानमा गरेका प्रतिबद्धता पूरा गर्न र कांग्रेसको हार भनेको जनताको हार हो भन्ने ठानेर पुनः नागरिकमाझ सुखदुख साट्न गाउँ अभियान सुरु गरिएको नेपाली कांग्रेस सिद्धिचरण नगरपालिकाका नेता डिल्ली खनालले बताए । 
 
हामीले हारे पनि जनताको सेवामा सधैँ समर्पित हुने बताउँदै खनालले भने ‘नगर क्षेत्रभित्र भएका भ्रष्टाचारका गतिविधि र नागरिकको सेवा प्रवाहमा गरिने नगरको पक्षपातपूर्ण व्यवहारलाई नजिकबाट नियालेको छु ।’ 
 
दुई वर्षभित्र नगरपालिकाले नागरिकको पक्षमा भन्दा पनि आफ्ना कार्यकर्ताका पक्षमा काम गरेको खनालको आरोप छ । नगरपालिका मात्र नभई नेकपाले जितेका सबै स्थानीयतहमा सत्ता र शक्तिको आडमा मनपरी काम भइरहेको उनले दाबी गरे ।
 
कांग्रेसको जागरण अभियानका क्रममा स्थानीय तहमा बढी भ्रष्टाचारजन्य गतिविधि बढेको पाइएको नेपाली कांग्रेसका जिल्ला सभापति प्रदीपकुमार सुनुवारले बताए । 
 
नागरिकले पाउने सेवा प्रवाह र कर्मचारी भर्नालगायतका कुरामा राजनीतिकरण गरिएको, स्थानीय तहको सुशासन खस्कँदै गएकोलगायतका कुराहरु नागरिक तहबाट
गुनासो आएको उनको भनाइ छ । 
 
कांग्रेसका उम्मेदवारदेखि जिल्ला तहका नेता कार्यकर्ताहरु अहिले जनताका घरआँगनमा पुगेर अध्ययन गर्दा स्थानीय तहमा ठूलो मात्रामा बजेट आए पनि त्यसलाई दीर्घकालीन योजना नभई अल्पकालीन योजना बनाएर खर्च गरिएको, गाउँगाउँमा जथाभावी सडक खनेर विकासभन्दा बढी विनास निम्त्याएको गुनासाहरु आफूहरुसँग आएको उनले बताए ।
 
हिमाल पहाड तराई मधेस नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान नारा लिएर कांगे्रसका नेताकार्यकर्ताहरु गाउँगाउँमा पुगेका छन् ।  वैशाख २५ गतेदेखि सुरु गरिएको नेपाली कांग्रेसको जागरण अभियानको पहिलो चरणको कार्यक्रम सम्पन्न हुन लागेको छ । 
 
पहिलो चरणको कार्यक्रमअन्तर्गत जेठ २५ गते नेपाली कांग्रेस ओखलढुंगाले बृहत आमसभाको आयोजना गरेको छ । ८ स्थानीय तह र ७५ वटा वडा रहेको ओखलढुंगाका प्रायः सबै वडाहरुमा अभियानको पहिलो चरणको कार्यक्रम सम्पन्न भएको र यो अभियानले कार्यकर्ताहरुमा उत्साह जागेको नेपाली कांग्रेसका क्षेत्रीय सचिव गोपालमान थापाले बताए । 
 
एक महिने अभियानका क्रममा तत्कालीन एमाले र माओवादीमा आवद्ध सयौँ स्थानीय नेताकार्यकर्ताहरु कांग्रेसमा प्रवेश गराइएको थापाले जानकारी दिए ।  (एजेन्सी)