नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जागरण अभियानले आम कार्यकर्तामा संवादको थालनी भएको बताएका छन् । उनले पत्रकारसँग कुराकानी गर्दै अभियान कांग्रेस सुधारका लागि प्रारम्भ भएको उल्लेख गरे ।
जागरण अभियानले कांग्रेसको गाडीलाई कुन दिशामा लैजाने भन्ने कुराको पुष्टि गर्ने उनको भनाइ थियो । उनले भने, “कांग्रेसको रुपान्तरणका लागि जागरण अभियान पनि एउटा ट्याबलेट हो ।” योमार्फत् कांग्रेसले गति लिएको भन्दै
उनले थपे, “कांग्रेसको गाडी स्टाट भयो । हिजो ड्राइभरहरू मात्रै कुदेको देखिन्थ्यो । अब गाडी स्टाट भएको छ दोस्रो चरणमा पुग्दा गाडी राजमार्गमा आउँछ र तेस्रो चरणमा पुग्दा गति लिन्छ ।” समग्रमा जागरण अभियान सफल भएको उनको ठहर थियो ।
अभियानका क्रममा आम जनतामा नैराश्यता मात्रै पाएको बताउँदै उनले देशलाई समृद्ध बनाउँदै लोकतन्त्रको रक्षा कांग्रेसले मात्रै गर्न सक्ने दाबी गरे । प्रवक्ता शर्माले भने, “जनतामा अहिले निरासा छाएको छ । यसलाई आशामा बदल्ने काम कांग्रेसले गर्नुपर्छ । यसका लागि हामी निरन्तर लागेका छौँ ।”
पहिलो चरणको जागरण अभियानको काम ८५ प्रतिशत गाउँ तहमा सम्पन्न भएको उनको भनाइ थियो । आगामी भदौ २४ गतेदेखि असोज ७ गतेसम्म दोस्रो चरणको कार्यक्रम हुने शर्माले बताए । तेस्रो चरणको कार्यक्रम पुस ७ गते देखि १६ गतेसम्म हुनेछ ।
फरक प्रसङ्गमा शर्माले मिडिया काउन्सिल विधेयक फिर्ता हुनुपर्नेमा जोड दिए । प्रेस काउन्सिल आफैँले पत्रकारको सहभागितामा आचार संहिता बनाउने भएकाले सरकारले ल्याउन लागेको मिडिया काउन्सिलको औचित्य नरहेको उनको भनाइ थियो ।
प्रतिक्रिया