मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानलाई एक करोड दिने प्रधानमन्त्रीको घोषणा

रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानलाई एक करोड दिने प्रधानमन्त्रीको घोषणा


पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पोखरामा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको एक समारोहबीच शुभारम्भ गरेका छन् । 
 
कास्की क्षेत्र नं २ बाट सङ्घीय सांसदका रुपमा निर्वाचित भएका अधिकारी संस्कृति, पर्यटन नागरिक उड्डयनमन्त्री हुँदा सरकारी कार्यको सिलसिलामा तेह्रथुमको चुहानडाँडामा निर्माण हुने विमानस्थलको स्थलगत निरीक्षण गर्न पुगेर फर्कने क्रममा ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी २०७५ फागुन १५ गते निधन भएको थियो । उनको जन्म विसं २०२६ वैशाख २२ गते पोखरामा भएको थियो ।
 
उनको स्मृतिमा सामाजिक क्षेत्रका साथै विकास निर्माण लगायतका कार्य गर्ने उद्देश्यले सो प्रतिष्ठानको स्थापना भएको हो । सो प्रतिष्ठानलाई सरकारको तर्फबाट रु एक करोड उपलब्ध गराउने घोषणा गर्दै प्रधानमन्त्री ओलीले भने, “रवीन्द्रको स्मृतिलाई ताजै राख्न, राष्ट्रलाई समृद्ध, विकसित र जनतालाई सुखी बनाउने आकांक्षालाई पूरा गर्न सो प्रतिष्ठानको स्थापना भएको हो ।”
 
रवीन्द्रको अधुरो सपनालाई साकार पार्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यो प्रतिष्ठानलाई जीवन्त राख्नका लागि सक्रियतापूर्वक योजनाबद्ध ढङ्गले देश, जनतालाई सर्वोपरी राखेर कार्य गर्नुपर्ने र प्रतिष्ठानलाई राजनीतिक विवादबाट पृथक राख्नका लागि सचेतसमेत गराए ।
 
विसं २०३९ देखि बच्चै अवस्थामा रहँदा आपूmले रवीन्द्रलाई चिनेको स्मरण गर्दै ओलीले भने, “कार्यकर्ता, केन्द्रीय नेता र मन्त्रीका रुपमा कार्य गर्दा रवीन्द्रमा कहिले पनि असमझारी, आक्रोश, रिस नदेखिएको र उहाँ सदैव मुस्कुराइरहने, प्रशन्नचित व्यक्तिका धनी हुनुहुन्थ्यो ।”
 
स्वच्छ आचरणशील, कर्मठ, क्रियाशील, अनुशासित र इमान्दार पार्टीको कार्यकर्ताका रुपमा रहेको बताउँदै ओलीले उनी देश र जनताप्रति समर्पित, चिन्तक, विश्लेषक र लेखकका नेताका रुपमा पनि परिचित रहेको स्मरण गराए । 
 
सरकारी कामको सिलसिलामा चुहानडाँडामा निर्माण हुने विमानस्थलको स्थलगत निरीक्षण गरी फर्कने क्रममा दुखद् घटनाको स्मरण गर्दा प्रधानमन्त्रीले भावुक हुँदै भने, “वर्षौंसम्म मन्त्री भएर गर्न नसकेको काम एक वर्षमै गरेका रवीन्द्रले आफ्ना पद चिह्न छाड्नुभएको छ जुन वर्षौंसम्म कायम रहनेछ ।” वाइडबडीको काण्ड रवीन्द्र मन्त्री बन्नुभन्दा पहिलेको घटना रहेको बताए । 
 
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘समृद्ध नेपाल र सुखी नेपाली’को सरकारको नारालाई पूरा गर्न रवीन्द्रले देखेका यी लगायतका अधुरो सपनालाई पूरा गर्नका लागि प्रतिबद्ध भएर लाग्नुपर्ने विषयमा जोड दिए । 
 
रवीन्द्र अधिकारीकी धर्मपत्नी एवं सो प्रतिष्ठानकका तदर्थ समितिका अध्यक्ष विद्या भट्टराईले यस्तो दुःखद् घडीको अवस्थाबाट गुज्रनुपर्ने विषयमा कहिले पनि नसोचेको उल्लेख गर्दै प्रतिष्ठानको माध्यमबाट रवीन्द्रको सपनालाई पूरा गर्न सदैव समर्पित भएर कार्य गर्ने प्रतिबद्धता प्रकट गरिन् । 
 
रवीन्द्र अधिकारीको बाल्यकालदेखि राजनीतिक अवस्थाका साथै उनी हेलिकप्टर दुर्घटनामा निधन भएको फागुन १५ गतेका दिन तेह्रथुम डाँडामा दिएको अन्तिम भाषणबाट प्रधानमन्त्री ओलीदेखि मञ्चमा आसिनका साथै सभागृहमा उपस्थित जनसमुदाय वृत्तचित्र हेरेर भावुक भएका थिए भने कतिपयको आँखा रसाएका थिए ।