मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अब संघीयताको पछाडि फर्कन सकिँदैन : देउवा

अब संघीयताको पछाडि फर्कन सकिँदैन : देउवा


काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक सङ्घीयतामा गइसकेकाले अब पछाडि फर्कन नसक्ने बताएका छन् । उनले सङ्घीयता नेपालका लागि नौलो प्रयोग भएको र यसलाई कसरी सफल बनाउने, कसरी प्रदेशअन्तर्गतका जनताको भावनाअनुसार अघि बढ्ने भन्ने विषयमा छलफल गर्ने बेला आएको बताए । 
 
काङ्ग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गणतन्त्र दिवसका अवसरमा आज आयोजना गरेको ‘सङ्घीयता कार्यान्वयनका चुनौती’ विषयक विशेष अन्तक्र्रियामा सभापति देउवाले भने, “सिंहदरबारबाट मात्र सिङ्गो मुलुकको सर्वाङ्गीर्ण विकास हुन सक्दैन, सम्पूर्ण देशलाई न्याय हुन सक्दैन भनेर सङ्घीयता आएको हो । सङ्घीयताको महत्वपूर्ण कार्य भनेको सिंहदरबारको अधिकार प्रदेश र स्थानीय तहमा लैजानु नै हो ।”   
 
सङ्घीयता स्थापनाको उद्देश्य परिपूर्ति गर्न स्थानीय जनताका माग सुनुवाइका निम्ति उनीहरुकै प्रत्यक्ष सहभागिताबाट बन्ने सरकारले नै विकास र अधिकार सुनिश्चित गर्ने सक्ने धारणा व्यक्त गर्दै उनले भने, “त्यसका लागि सिंहदरबारको अधिकार प्रदेश र स्थानीय तहमा गएको हो ।” सङ्घीयता सफलताका लागि प्रदेशबीच एकापसमा अन्तरनिर्भरता र सहयोग पनि आवश्यक हुने उनको भनाइ थियो ।
 
सरकार संघीयताविरोधी 
  
सरकार बुधबार पेश गरेको बजेट हेर्दा सङ्घीयतालाई बेवास्ता गर्न खोजेको देखिन्छ भन्दै सभापति देउवाले बजेटले सङ्घीयतालाई अपमान गर्न खाजेको आरोप लगाए । “सत्तारुढ दलबाटै नेतृत्व गर्ने प्रदेशका मुख्यमन्त्रीले अधिकार नपाएको गुनासो गर्न थालेका छन्, त्यसैले यो सरकार सङ्घीयताकोे पक्षमा छैन, सङ्घीयताको विरोधी छ”, उनले थपे ।
 
सरकार स्थानीयस्तरमा गएको अधिकार केन्द्रीकरण गर्न खोजिरहेको आरोप लगाउँदै उनले प्रदेशले संविधानअनुसारको अधिकार पाउनुपर्ने र सोहीअनुसार काम गर्न पाउनुपर्ने बताए । प्रदेश र सङ्घबीचको सहयोगको सम्बन्ध हुनुपर्ने आफ्नो पार्टीको धारणा रहेको सभापति देउवाले बताउनुभयो । काङ्ग्रेसले सङ्घीयतालाई सफल बनाउन लागिपरेको बताउँदै उनले प्रदेशका पक्षमा अगाडि बढ्नुपर्ने बेला आएको बताए । 
 
विगतमा राजाले प्रजातन्त्रसँग हिँड्न नमानेका कारण राजतन्त्र फाल्नुपरेको प्रसङ्ग उल्लेख गर्दै उनले सरकारले आज लोकतन्त्रलाई असफल र कमजोर बनाउन लागिपरेको टिप्पणी गर्दै भने, “त्यसका लागि काङ्ग्रेसले अर्काे लडाइँ लड्नुपर्ने अवस्था आउन सक्छ ।”