मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

रंगशालामा डोजर लगाउने दोषीलाई कारबाहीको माग

रंगशालामा डोजर लगाउने दोषीलाई कारबाहीको माग


भरतपुर । चितवन भरतपुर महानगर १५ स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बनाइएको अस्थायी जस्ताको बार डोजर लगाएर भत्काउने उच्छृंखल तत्वलाई कारबाही गर्न माग गरिएको छ । 
 
भरतपुर महानगरमा प्रजिअ जीतेन्द्र बस्नेतसहित सुरक्षा निकायका प्रमुख, धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल, राजनीतिक दलका प्रमुखलगायतले रंगशालामा डोजर लगाउने प्रकाश कँडेललगायत घटनामा संलग्न दोषीउपर कडा कारबाही गर्ने निर्णय गरिएको छ । 
 
प्रहरीले घटनाका नाइके नेकपाका स्थानीय नेता कँडेलसहित १८ जनालाई पक्राउ गरेको छ । प्रजिअ बस्नेतले जस्तोसुकै जोखिम मोल्नुपरे पनि दोषीलाई कारबाही गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन् । उनले घटनाको क्षतिपूर्ति पनि दोषीहरुबाटै असुल्नुपर्ने बताए । 
 
चितवनका प्रहरी प्रमुख एवम् एसपी दानबहादुर मल्लले घटनाको अनुसन्धान भइरहेको बताउँदै सुनियोजितरुपमा गराइएको उक्त घटनाका दोषीलाई कारबाही गर्ने बताए । 
 
भरतपुर महानगरपालिकी मेयर रेनु दाहालले पनि उक्त घटना आपराधिक भएको भन्दै दोषीलाई उन्मुक्ति दिन नहुने बताइन् । उनले यसअघि विज्ञप्ति जारी गर्दै उक्त घटनाको घोर निन्दा एवम् भत्र्सना गर्दै महानगरका तर्फबाट गैरकानुनी कार्यका संलग्न व्यक्तिहरुलाई हदैसम्मको कानुनी कारबाही र क्षतिको यकिन गरी बिगो बमोजिमको क्षतिपूर्ति भराउने कार्यका लागि सम्बन्धित निकायमा अनुरोध गरेकी छन् ।  
 
महानगर प्रमुख दाहालले जनस्तरको सहयोगबाट निर्माण गर्न लागिएको राष्ट्रिय गौरवको आयोजनालाई निरन्तरता दिन अनुरोध गर्दै उक्त आयोजनाको सफल कार्यान्वयनका लागि सबै पक्षबाट पूर्ण सहयोग हुने विश्वाससमेत व्यक्त गरेकी छन् । 
 
धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले प्रशासनले सुरक्षाको प्रत्याभूति दिए शुक्रबारदेखि निर्माण कार्यलाई निरन्तरता दिने बताए ।
 
घटनाका नाइके नेकपाबाट निलम्बित
 
नेकपा चितवनका अध्यक्ष यमलाल परियारले घटनामा संलग्न पार्टीका स्थानीय नेता प्रकाश कँडेललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको विज्ञप्ति जारी गरेका छन् । यस्तै अर्का कार्यकर्ता भैरव बस्ताकोटीलाई दुई महिनासम्मका लागि निलम्बन गरिएको जनाएका छन् । 
 
यसैगरी कांग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठले पनि विज्ञप्ति जारी गर्दै उक्त घटनाको घोर भत्र्सना गरेका छन् । सो कार्यमा संलग्न व्यक्तिहरुलाई अविलम्ब कारबाही गर्न सरकारसँग मागसमेत गरिएको छ । कांग्रेस हिंसा र ध्वंसमा नभई निर्माणमा विश्वास गर्ने पार्टी रहेको भन्दै श्रेष्ठले केही अनलाइन समाचारमा कांग्रेसका मानिसको संलग्नता रहेको भनी दुस्प्रचार गरिएकोमा त्यस्ता समाचारमा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् ।