नेपाली काँग्रेसका युवा नेता एवंम पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले शासनको स्वरुप गणतन्त्रात्मक भए पनि शैली पुरानै हुँदा गणतन्त्रप्रति नेपाली जनतामा तीव्र असन्तुष्टि बढेको बताएका छन् ।
नेपाल प्रेस युनियन चितवनले भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता थापाले पछिल्लो निर्वाचनले गणतन्त्र सुरक्षित हुने अपेक्षा रहे पनि अहिले झनै गणतन्त्र सुरक्षित होला भन्ने प्रश्न उब्जिएको बताए ।
उनले भने–“निर्वाचनपश्चात गणतन्त्र संस्थागत र सुरक्षित होला भन्नेमा थियौं, अब कसरी सुरक्षित रहन्छ भन्नेमा प्रश्न उब्जिएको छ ।”
उनले आज गणतन्त्र दिवस मनाईरहँदा जनता निराश भएको बताए । उनले नेपाली जनताको अधिकारी खोस्न उद्धत रहेको बहुमत प्राप्त वर्तमान सरकारको यस्तो क्रियाकलाप राख्ने प्रमुख प्रतिपक्षी दल उदासिन रहेको प्रति चिन्ता व्यक्त गरे ।
उनले संविधानको विपरीत हिड्न लागेको वर्तमान सरकारलाई रोक्न नागरिकको साथका लागि कांग्रेसले आफूभित्र आमुल परिवर्तन गर्न जरुरी रहेको बताए ।
नेता थापाले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक कुनै हालतमा पारित हुन नदिने दाबीसमेत गरे ।
कार्यक्रम प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो ।







प्रतिक्रिया