मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

ओली सरकारमा दुईतिहाइको अहंकार : नेता आचार्य

ओली सरकारमा दुईतिहाइको अहंकार : नेता आचार्य


चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नरहरि आचार्यले कम्युनिस्ट सरकारमा दुईतिहाइको अहंकार देखिएको बताएका छन् । 
 
संसदीय व्यवस्थामा सरकार र प्रमुख प्रतिपक्षको भूमिका महत्वपूर्ण रहने भए पनि सरकारले बहुमतको दम्भमा अहंकार देखाएको नेता आचार्यले बताए । 
 
नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियानअन्तर्गत गणतन्त्र दिवसको अवसरमा कांग्रेस चितवनद्वारा आयोजित गणतन्त्र स्थापनाको एक दशक विषयक प्रवचन कार्यक्रममा सम्बोधन गर्दै नेता आचार्यले कांग्रेसले स्थापनादेखि नै विभिन्न संघर्ष गर्दै आएको स्मरण गर्दै अबको संघर्ष अप्ठ्यारो नभएको जिकिर गरे । 
 
सरकारको एक वर्षको गतिविधिअनुसार कांग्रेसले संयमताका साथ संघर्षलाई उचाइमा पु¥याउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै कांग्रेसले प्रतिपक्षमा नै बसेर सरकारलाई नियन्त्रण गर्नुपर्ने बताए । 
 
जनताले गणतन्त्रको आत्मसात् गर्नेगरी सरकारले काम गर्न नसकेको बताउँदै जनमुखी भनिएको सरकारले जनजीविका उकास्ने खालका काम गरेर जनताको सरकारको अनुभूति दिलाउनुपर्ने बताए । गणतन्त्र आफैँले केही दिने नभई यसबाट लाभ लिनुपर्नेमा उनको जोड थियो । गणतन्त्र स्थापनाकै कारण जनताको सर्वाेच्चता सार्थक भएको उनको भनाइ थियो । 
 
यसैगरी, नेपाली कांग्रेसको नीति तथा प्रशिक्षण विभागकी केन्द्रीय सदस्य कमला लामिछानेले कांग्रेसमा अब भावनात्मकरुपमा एकढिक्का हुनुपर्ने अवस्था आएको बताइन् । कम्युनिस्टको सरकारले जनताको सर्वाेच्चता धरापमा पारेको बताइन् । पार्टीले स्थानीयदेखि केन्द्रसम्म ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको भन्दै उनले क्रियाशील महिला नेतृहरुको सहभागिता पनि बढाउनुपर्नेमा जोड दिइन् । 
 
नेपाली कांग्रेस चितवनका पूर्वसभापति तोपमान गुरूङले कांग्रेस निर्वाचनमा हारे पनि आत्तिनुपर्ने अवस्था नरहेको बताए । सरकारको ज्यादतीविरूद्ध नेता तथा कार्यकर्ताहरु जागरूक हुनुपर्ने बताए । 
 
नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा सचिव उत्तम जोशी, राजीव न्यौपाने, प्रदेश नं ३ का सांसद् मिलनबाबु श्रेष्ठ, गीता वाग्लेलगायतले गणतन्त्रको उपलब्धिलाई सबैले आत्मसात् गर्नुपर्ने बताए । 
 
यसैबीच, कांग्रेसका नेता आचार्यको पुस्तक ‘गणतन्त्रको यात्रा’माथि भरतपुरमा चर्चा गरिएको छ । 
 
गणतन्त्रसँग सम्बन्धित पुस्तक भएकोले गणतन्त्र दिवसकै अवसरमा कार्यक्रम आयोजना गरिएको कविडाँडा साहित्य समाज चितवनका अध्यक्ष एलबी क्षेत्रीले बताए । 
 
बीपी चिन्तन प्रतिष्ठान चितवन र सम्पूर्ण किताब सह–आयोजकको रूपमा रहेको कार्यक्रममा समालोचक डा एकनारायण पौडेल र कांग्रेसकै युवा नेता एवम् पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा प्रमुख वक्ताको रूपमा उपस्थिति थिए ।