मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आठ वर्षीय बालकको अपहरण गरी हत्या गर्ने तीन पक्राउ

आठ वर्षीय बालकको अपहरण गरी हत्या गर्ने तीन पक्राउ


वीरगञ्ज । बालकलाई अपहरण गरी हत्या गरेको अभियोगमा प्रहरीले आज तीन जना युवकलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–३ प्रगतिनगर निवासी शम्भु साह तुरहाका आठ वर्षीय छोरा करणको अपहरण गरी हत्या गरेको अभियोगमा प्रहरीले एक भारतीयसहित तीन युवकलाई नियन्त्रणमा लिएको हो । 
 
पक्राउ परेका भारत विहारको बेतिया घर भई हाल वीरगञ्जको प्रगतिनगरमा बस्दै आएका विकास शर्मा, बाराको कलैया उपमहानगरपालिका–११ निवासी सिकेन्द्र साह र बाराकै खपरताता बस्ने विनेश महतोलाई आज पत्रकारसम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको छ । 
 
घरअगाडि खेलिरहेको अवस्थामा जेठ १० गते करणलाई अपहरण गरी उनका पितासँग ३० लाख फिरौती माग्दै आएको र फिरौती पाउन ढिलो भएपछि बालकको हत्यासमेत गरेको अभियोगमा तीनै जनालाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए । उनले अपहरणकारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागी विकास र सिकेन्द्र घाइते भएको बताए । 
 
अपहरणकारीले दिएको सूचनाका आधारमा कलैया उपमहानगरपालिका–२५ मा पर्ने खौराही खोलामा बालकको शव खोजतलास गर्ने क्रममा विकास र सिकेन्द्र भागेपछि उनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको उपरीक्षक ढकालले जानकारी दिए । घाइते दुवैको वीरगञ्जको नारायणी अस्पतालमा उपचार भइरहेको छ । 
 
खोराही खोलाबाट बरामद गरिएको करणको शव परीक्षणका लागि कलैया अस्पतालमा राखिएको छ । पक्राउ परेका तीनै जनामाथि अपहरण र कर्तव्य ज्यान मुद्दा चलाउने तयारी भएको प्रहरीले जनाएको छ ।