मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

निर्माणाधीन क्रिकेट रंगशालामा नेकपाको दादागिरी, फाउन्डेसनलाई धम्की दिँदै चलाइयो डोजर

निर्माणाधीन क्रिकेट रंगशालामा नेकपाको दादागिरी, फाउन्डेसनलाई धम्की दिँदै चलाइयो डोजर


चितवन । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा लगाइएको बार अराजक स्थानीयको भीडले भत्काइदिएका छन् । बुधबार बिहान डोजरसहित आएका केही व्यक्तिले जस्तापाताले लगाएको बार भत्काइदिएका हुन् । बार भत्काउने क्रममा उनीहरुले धुर्मस–सुन्तली फाउन्डेसनका कर्मचारीहरुलाई धम्कीसमेत दिएका छन् ।
 
नेकपाका स्थानीय नेतासमेत रहेका प्रकाश कँडेल, धुर्मस–सुन्तली फाउन्डेसनको साइट कार्यालयका घरबेटी सुरेन्द्र विकसहितका व्यक्तिहरुले जस्ताको बार भत्काएको एक स्थानीयले बताएका छन् । ती व्यक्तिहरुले झण्डै एक किलोमिटर जति बार भत्काएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । साइटकै सुरक्षामा खटिएका दुई जना प्रहरीले खिचेको फोटोसमेत डिलिट गर्न उनीहरुले धम्की दिएका थिए ।
 
घटनामा संलग्न भएको आशंकामा १६ जना पक्राउ परेका छन् । घटनामा संलग्न मुख्य व्यक्ति भनिएका प्रकाश कँडेलको खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दुर्गा रेग्मीले जानकारी दिए । बार भत्काउन प्रयोग गरिएको डोजर प्रहरीले नियन्त्रणमा लिएको छ ।
 
रंगशाला निर्माणको पश्चिमतर्फ सडक निर्माणका लागि फाउण्डेसनले जग्गा छाड्नुपर्ने माग स्थानीयको छ । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले भोगचलन गर्दै आएको जग्गाबाट सडक बनाउनुपर्ने माग उनीहरुको छ ।
 
चार दिनअघि यस विषयमा स्थानीयसँग फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले छलफल गरेका थिए । सो छलफलमा रंगशालाको पूरा डीपीआर आएपछि कति सडक छाड्ने भन्ने बारेमा निर्यौक्ल हुने भएकोले तत्काल काम गर्न दिन अनुरोध गरेका थिए । स्थानीयका लागि मात्रै होइन रंगशालाका लागि समेत सडक चाहिने भएकोले करिब १० मिटर जग्गा सडकका लागि छाड्ने विश्वास धुर्मसले दिलाएका थिए ।
 
स्थानीयले समेत केही मिटर छाडेर बाटो खोल्ने सहमति भएको ४ दिनपछि नै केही व्यक्तिहरुको उक्साहटमा जस्ताको बार भत्काइएको फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले बताए । ‘उहाँहरुले अहिले सामान सुरक्षाका लागि बार लगाउनुस् भन्नुभयो र लगाएँ तर एकाएक आएर डोजर लगाउनुभयो’ धुर्मसले भने ।
 
त्यहाँका केही स्थानीय ठेकेदारले आफूहरुसँग निर्माण सामग्री लिनुपर्ने, केही प्रतिशत स्थानीयलाई कमिसन दिनुपर्ने माग गर्दै साइट कार्यालयमा गई धम्की दिने गरेका छन् । तिनै धम्की दिने व्यक्तिहरुले नै डोजर लगाएर बार भत्काएको फाउण्डेसनका एक कर्मचारीले बताए । 
 
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले अराजक व्यक्तिहरुको भीडले रंगशाला निर्माणस्थलमा गराएको घटनालाई गम्भीर रुपमा लिएको बताइन् । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले राष्ट्रिय गौरवको आयोजनाका लागि कुनै पनि सुरक्षाको कमी नहुन नदिइने बताए । उनले घटनामा संलग्नहरुलाई पक्राउ गरी कानुनबमोजिम कारबाही गरिने बताए ।
 
नेकपाका नेता कार्यकर्ताको झुन्डले कमिसनको कुरा नमिलेपछि बार भत्काएर आक्रोश पोखेको स्थानीयले बताएका छन् । सो क्षेत्र नेकपाका अध्यक्ष प्रचण्डको चुनावी क्षेत्र हो ।