मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

दिउँसै हात्तीको बथान आएपछि गाउँ र विद्यालयमा त्रास

दिउँसै हात्तीको बथान आएपछि गाउँ र विद्यालयमा त्रास


भद्रपुर । झापाको अर्जुनधारा नगरपालिका–५ मा मानव वस्तीको बीचमा बच्चासहित जङ्गली हात्तीको बथान दिउँसै आएपछि त्रास फैलिएको छ । भारततिरबाट आएका छ वटा हात्ती आज बिहानदेखि सो वडास्थित ध्यानबहादुर भारतीको उखुबारीमा बसेका छन् । 
 
हात्ती बसेको उखुबारीको वरिपरि दुई दर्जन घर छन् भने डेढ सय विद्यार्थी अध्ययन गर्ने एउटा आधारभूत विद्यालय छेउमै छ । हात्ती दिउँसो बास बस्ने र राति आहारका लागि सक्रिय हुने गर्दछ । 
 
हात्तीबाट मानव वस्ती र विद्यालयमा क्षति नपुगोस् भनेर डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णु घिमिरेको नेतृत्वमा वन कार्यालयको टोली हात्ती रुग्न खटिएको छ भने सशस्त्र प्रहरी र नेपाल प्रहरीको छुट्टाछुट्टै टोली विद्यालय र बस्तीको सुरक्षाका लागि परिचालन गरिएको छ । 
 
करीब ३०० मिटरको दूरीमा रहेको श्री आधारभूत विद्यालयमा पढिरहेका डेढ सय विद्यार्थीलाई विद्यालय हाताबाहिर ननिस्कन र गाउँलेलाई हात्तीसँग नजिस्किन आग्रह गरिएको डिभिजन वन कार्यालयका प्रमुख घिमिरेले बताए । 
हात्ती हेर्न सर्वसाधारणको भीड बढ्दै गएको र कुनै कारणवश हात्तीको बथान त्यहाँबाट बिच्किएमा बस्ती र विद्यालयमा पस्ने जोखिम भएको हुँदा सुरक्षाकर्मीहरू परिचालन गरिएको उहाँले बताए ।
 
झापामा भारतबाट बर्खायाममा आहाराको खोजीमा सयौँको बथानमा जङ्गली हात्ती बाहुनडाँगी हुँदै नेपाल पस्ने गर्छन् । हात्तीले दिनहुँ बालीनाली खाएर क्षति पु¥याउने गरेको छ भने हालसम्ममा हिंस्रक आक्रमणमा परेर दर्जनौँ सर्वसाधारणले ज्यान गुमाइसकेका छन् । रासस