मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बम विस्फोटमा विप्लव समूहको संलग्नता खुल्यो, गृहमन्त्रालयमा आकस्मिक बैठक

बम विस्फोटमा विप्लव समूहको संलग्नता खुल्यो, गृहमन्त्रालयमा आकस्मिक बैठक


काठमाडौँ । नेपाल बन्दको अघिल्लो दिन चार जनाको ज्यान जाने गरी राजधानीका विवभिन्न स्थानमा भएका श्रृंखलावद्ध विस्फोटमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको संलग्नता रहेको प्रहरीले जनाएको छ । 
 
महानगरीय प्रहरी कार्यालय काठमाडाँैका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले सबै ठाउँमा विप्लव समूहले नै विस्फोट गराएको उल्लेख गरे । सो घटनामा चारको मृत्यु र आठ जना घाइते भएका छन् ।
 
नेपाली सेनाले पनि दुवै घटनामा सिलिण्डर पड्किएको नपाइएको बताएको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले भने, “दुवै ठाउँमा ग्यास सिलिण्डर पड्किएको पाइएको छैन, घट्टेकुलोमा त पक्का भइसक्यो, यताको पनि अनुसन्धानमा टोली खटाएका छौँ, टोलीले अनुसन्धान गरिरहेको छ ।”
 
अपराह्न करीब ४ बजे भएको विस्फोटनमा परी चार जनाको मृत्यु भएको हो । घट्टेकुलोको सङ्गम गल्लीमा भएको विस्फोटमा एक र सुकेधारामा भएको विस्फोटमा दुई जनाको ज्यान गएको हो । उता सुकेधारास्थित एक जनाको घटनास्थलमै र अर्का एकको उपचारका क्रममा ओम अस्पतालमा निधन भएको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए । उनीहरुको पहिचान खुलेको छैन । अहिलेसम्म घाइते भएका छमध्ये चार जनाको परिचय खुलेको छ । घट्टेकुलोमा भएको विस्फोटमा परी रुकुम घर भई त्रिचन्द्र कलेज पढ्ने विप्लव समूहका विद्यार्थी नेता रबिन केसी रहेका छन् ।
 
उनको अहिले काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सुकेधाराको ढलाने पुल नजीक भएको विस्फोटमा परी काठमाडौँ कपनका हरि खड्का, बूढानीलकण्ठका सुरेन्द्र महर्जन, महोत्तरी घर भएका छोटु ठाकुर घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको ओम अस्पतालमा उपचार भइरहेको छ । दुई घाइतेको परिचय खुलेको छैन ।
 
प्रत्यक्षदर्शी स्थानीयवासीका अनुसार घट्टेकुलो बम विस्फोटबाट घरको गारो नै चर्किएको छ भने कोठमा भएको सामानमा समेत क्षति पुगेको छ । घटनास्थलमा विस्फोटक पदार्थ रहेको आशङ्कामा नेपाली सेनाको तालीमप्राप्त टोली परिचालन भएको छ । प्रत्यक्षदर्शी शौरभ भट्टराईले ठूलो आवाजका साथ विस्फोट भएको र घरको गारोसमेत चर्किएको जानकारी दिए । 
 
विस्फोटमा परेर निधन भएका केसीको शरीर क्षतविक्षत अवस्थामा सुरक्षाकर्मीले फेला पारेको थियो । दुवै घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित भई अनुसन्धान जारी राखेका छन् ।
 
गृहमन्त्रालयमा आकस्मिक बैठक
 
विष्फोटको घटनापछि गृहमन्त्रालयमा आकस्मिक बैठक बसेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले ३ वटै सुरक्षा निकायका प्रमुललाई बोलाएर आकस्मिक छलफल गरेका हुन् ।
 
छलफलमा गृहसचिव प्रेमकुमार राई, नेपाल प्रहरीका प्रमुख सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी शैलेश थापा क्षेत्रीसहित काठमाडौं, भक्तपुर र ललितपुर ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी उपस्थित थिए ।
 
थापाले देशैभरका कार्यालयलाई हाइ अलर्टमा राख्न र सुरक्षा स्थिति बजबुत बनाउन निर्देशन दिएका थिए ।