नेपाल

त्रिशूली नदीमा बस खस्दा पाँच जनाको मृत्यु, २९ घाइते

त्रिशूली नदीमा बस खस्दा पाँच जनाको मृत्यु, २९ घाइते


धादिङ । झापाको काँकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबस धादिङमा आइतबार बिहान दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको भने एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ । 
 
दुर्घटनामा २९ घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी निरीक्षक हेमराज घिमिरेले जानकारी दिए । 
 
मृत्यु हुनेमा चन्द्रागिरि नपाका ३५ वर्षीया सीता थपलिया, कन्याम इलामका २० वर्षीय विशाल गिरी, काठमाडौँ जिल्ला थानकोटका ५१ वर्षीय राजकुमार सुवेदी रहेको प्रहरीले जनाएको छ । अन्य दुईको सनाखत भएको छैन । 
 
ना७ख ४३८७ नंको बस गजुरी गाउँपालिका–६ बन्छेटारबाट त्रिशूली नदीमा खसेको हो । घाइतेको उद्धारका लागि नेपाली सेना, जनपथ, सशस्त्र प्रहरी र स्थानीयवासी खटिएका छन् । दुर्घटना के कारणले भयो भन्ने खुल्न सकेको छैन ।