काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र देखिएको विवाद अन्त्य हुनुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस चितवन–काठमाडौँ सम्पर्क समाजले आयोजना गरेको ‘नयाँ वर्षको भित्तेपात्रो विमोचन तथा जागरण अभियान’कार्यक्रममा बोल्दै उनले कांग्रेस पार्टीभित्र देखिएको विवाद अन्त्य गर्दै १४औँ महाधिवेशन गराउन लाग्नुपर्ने बेला आएको बताए।
“सभापति पार्टीभित्र गुट, उपगुट भयो भन्दै आफैँ गुट चलाउन लाग्नुभएको छ, यसले पार्टीलाई फाइदा पुग्दैन,”–उनले भने । पार्टीभित्र देखिएको विवाद मिलाउन सभापति लाग्नुपर्ने उनको भनाइ थियो ।
नेता डा कोइरालाले मानवअधिकारसम्बन्धी विधेयक, मिडिया काउन्सिल विधेयक र राष्ट्रिय सुरक्षा विधेयक तत्काल सरकारले फिर्ता लिनुपर्ने बताए । उनले भने, “महङ्गी, भ्रष्टाचार, शान्ति सुरक्षा, दण्डहीनताको अन्त्यका लागि कांग्रेस अग्रसर हुनुपर्दछ ।’’
सो अवसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले विधि र विधानअनुसार कांग्रेस अगाडि बढ्नुपर्नेमा जोड दिए । “कांग्रेस बलियो भएमात्र लोकतन्त्र बलियो हुन्छ, कांग्रेस बलियो बनाउन पार्टी विधि र विधानअनुसार चल्नुपर्छ,”–उनले भने ।
कांग्रेस जागरण अभियान चितवनका केन्द्रीय प्रतिनिधि सुरेन्द्रप्रसाद चौधरीले जागरण अभियानले पार्टीभित्र जागरण पैदा गराउने विश्वास व्यक्त गरे । जागरण अभियानले पार्टीलाई थप बलियो बनाउन मद्दत पुग्ने उनको भनाइ थियो ।
नेपाल महिला सङ्घ अध्यक्ष उमा रेग्मीले पार्टीभित्र महिलालाई सशक्त बनाएर अगाडि बढाउन नसकेसम्म कांग्रेस बलियो हुन नसक्ने जिकिर गरिन् ।








प्रतिक्रिया