मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कांग्रेस वैकल्पिक शक्ति : वरिष्ठ नेता पौडेल

कांग्रेस वैकल्पिक शक्ति : वरिष्ठ नेता पौडेल


जनकपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई जनताको चाहनाअनुसार वैकल्पिक शक्तिका रूपमा उभ्याउनुपर्ने बताएका छन् । 
 
राष्ट्रिय जागरण अभियानअन्तर्गत आज जनकपुरधाममा आयोजित सभामा नेता पौडेलले सरकारका काम जनअपेक्षाअनुरुप नभएको टिप्पणी गर्दै पार्टीले सशक्त विरोध गर्नुपर्ने जिकिर गरे । 
 
केन्द्रीय सदस्य बलबहादुर केसीले सरकारले संविधान, संघीयतालाई कागजको खोस्टोमा परिणत गर्न खोजेको आरोप लगाए । 
 
प्रदेशसभा सदस्य रामसरोज यादवले सरकारले स्वतन्त्रतामाथि अंकुश लगाउने क्रियाकलाप गरिरहेको आरोप लगाए । 
 
यसैबीच, कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले सुदृढ र एकताबद्ध कांग्रेस राष्ट्रको आवश्यकता भएको बताए । राष्ट्रिय जागरण अभियानको आज पोखरामा सम्बोधन गर्दै उनले आपसी मनमुटाव त्याग्दै केन्द्रदेखि वडा तहसम्म पार्टी एकताबद्ध हुनुपर्नेमा जोड दिए । 
 
कांग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले पार्टीभित्रको आन्तरिक एकता पहिलो आवश्यकता भएको धारणा राखे । कांग्रेस कास्कीका सभापति कृष्ण केसीले अभियानलाई जिल्लाका हरेक तहमा लैजाने बताउँदै यसले पार्टीलाई थप क्रियाशील बनाउने विश्वास व्यक्त गरे । 
 
यस्तै, कांग्रेसकी केन्द्रीय कोषाध्यक्ष सीतादेवी यादवले गुट–उपगुटमा विभाजित भएर पार्टीलाई कमजोर नबनाउन कार्यकर्तालाई निर्देशन दिइन् । सुर्खेतको वीरेन्द्रनगरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले कार्यकर्तालाई एकताबद्ध भएर पार्टीका गतिविधिमा लाग्न आग्रह गरिन् । 
 
यस्तै, केन्द्रीय सदस्य अर्जुननरशिंह केसीले कांग्रेसका नेता र कार्यकर्ताकाबीच पार्टी सुदृढीकरणका लागि अहिले विचारमा पुनःजागरणको आवश्यकता खड्केको बताए । 
 
उनले कांग्रेस केन्द्रीय समितिद्वारा आह्वान गरिएको राष्ट्रिय जागरण अभियानको प्रथम चरणको कार्यक्रमअन्तर्गत मकवानपुरमा आयोजित कार्यक्रममा कांग्रेसका कार्यकर्ताबीच गुटगत वैमनष्य दुव्र्यवहारलाई त्यागेर सत्यनिष्ठाको यथार्थ धरातलमा उभिएर कार्यकर्ताले पार्टीका नेतृत्वलाई यथार्थ कुरा भन्न सक्नु नै कांग्रेसको पहिचान भएको जिकिर गरे । 

शेयर गर्नुहोस:

0
Shares