नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले कांग्रेसले आजदेखि शुरु गरेको देशव्यापी जनजागरण अभियान सत्ता प्राप्तिका लागि नभई जागरणका लागि भएको बताएका छन् ।
जनजागरण अभियानअन्तर्गत आज भक्तपुरको दूधपाटीमा आयोजित कार्यक्रममा उनले काङ्ग्रेस पाँच वर्ष प्रतिपक्षमै बस्ने बताए ।
जनताले सत्तामा पठाएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले जनताको चाहनाअनुरुप काम गर्नुपर्ने र जनताको पक्षमा काम गर्न दबाब सिर्जना गर्न अभियान सञ्चालन गरिएको उनको भनाइ थियो ।
नेता रिजालले काङ्ग्रेस आफैँ भित्रको कलहबाट बाहिर निस्केर बदलिनुपर्ने र सुध्रिनुपर्ने बेला आएको बताए ।
कार्यक्रममा काङ्ग्रेस नेत्री रजनी जोन्छे र काङ्ग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले जनताको चाहनाअनुरुप सरकारलाई काम गर्न दबाब दिनका लागि काङ्ग्रेसले अभियान चाल्नु परेको बताइन् ।
यसैबीच, केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले जागरण अभियानमार्फत पार्टीलाई बलियो बनाउने सङ्कल्प गर्न आवश्यक रहेकामा जोड दिए ।
काङ्ग्रेसको आह्वानमा आजदेखि शुरु भएको राष्ट्रिय जागरण अभियानको तनहुँको दमौलीमा उद्घाटन गर्दै जोशीले पार्टीभित्र भएका असहमति र वैमनस्यतालाई अन्त्य गरी काङ्ग्रेसलाई बलियो बनाउन दृढ सङ्कल्प सबैले गर्न आवश्यक रहेको बताए ।
काङ्ग्रेस–काङ्ग्रेसबीचको द्वन्द्वले पार्टी कमजोर हुँदै गएकाले भोलि देशको नेतृत्व गर्न सक्ने पार्टी बनाउन सबै नेता तथा कार्यकर्ता एकढिक्का भएर लाग्नुपर्नेमा उनले जोड दिए । काङ्ग्रेस तनहुँका सभापति बैकुण्ठ न्यौपानेले काङ्ग्रेसभित्र सुमधुर सम्बन्ध बनाउन र आफैँभित्र जागरण ल्याउन राष्ट्रिय जागरण अभियानले सहयोग पुग्ने बताए ।
राष्ट्रिय जागरण अभियानमार्फत जिल्लामा क्षेत्रीय र स्थानीय तहमा कार्यक्रम सञ्चालन गरिने काङ्ग्रेस तनहुँका सचिव विश्व बाँस्तोलाले जानकारी दिए । उनका अनुसार सो अभियानअन्तर्गत गाउँ–गाउँमा पुगेर सदस्यता वितरण, अभिलेख सङ्कलन, अग्रजलाई सम्मानलगायत कार्यक्रम सञ्चालन गरिनेछ ।
प्रतिक्रिया