काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कम्युनिस्ट आन्दोलनलाई उत्कर्ष लगेरमात्रै मर्ने चाहना रहेको बताएका छन् ।
कार्लमाक्र्सको २०१ औँ जन्मजयन्तीका अवसरमा राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आफूले कम्युनिस्ट आन्दोलनलाई उत्कर्षमा लगेर मुलुकलाई समाजवादी आन्दोलनमा पु¥याउन चाहेको बताए । उनले भने, ‘कार्यकर्ताले साथ दिन्छन् भने म अझै जंगल पस्न तयार छु ।’ कम्युनिस्ट आन्दोलनमा गुणात्मक वृद्धि भइसकेको बताउँदै उनले आफूमा आन्दोलनको हिम्मत र साहस अझै जीवितै रहेको बताए ।
पार्टी एकताको प्रस्ताव पनि आफूले नै गरेको र आज एक वर्षपछि एकता टुंगिँदा एकदम ठीक गरेछुजस्तो लागेको उनले बताए । उनले आफू मसालको महामन्त्रीदेखि नेकपाको अध्यक्ष रहँदासम्म कुवामै जम्ने खालको नरहेको बरु कुवा भत्काएर बग्ने खालको रहेको प्रष्ट्याए । आफू जहिले पनि एकीकृत र वृहत कम्युनिस्ट आन्दोलनको परिकल्पना गरिरहने भएकाले हालको नेकपा पनि त्यसैको कडी भएको बताए ।
उनले पार्टीभित्र एकले अर्कोलाई छिर्के हान्ने प्रवृत्ति कायमै रहेको उल्लेख गर्दै भूमिगतकालमा भन्दा शान्तिपूर्ण राजनीतिमा अवतरण भएपछि आफू एक्लो महसुस भएको बताए । उनले थपे, ‘अहिले हामी यतिधेरै कार्यकर्ता छौँ तर काठमाडौँ आएपछि एक्लोपनको महसुस भइरहेको छ ।’
प्रतिक्रिया