काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवम् विपक्षी दलका नेता शेरबहादुर देउवाले सरकारको कार्यशैलीले जनता ठगिएको बताएका छन् ।
नेपाल सरकारको आर्थिक वर्ष २०७६/७७ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफलका क्रममा सभापति देउवाले सरकारको कार्यशैलीले लगानी निरुत्साहित भएको तथा सामाजिक–आर्थिक सुधार हुन नसकेको र नेपाली जनताले सुखशान्ति अनुभव गर्न नपाएको उल्लेख गरे ।
सभापति देउवाले प्रस्तुत नीति तथा कार्यक्रम तयारीबिना बनाइएको आफूलाई लागेको उल्लेख गर्दै त्यसले ठोस परिणाम दिने सम्भावना ज्यादै कम रहेको बताए ।
आगामी एक वर्षको कार्यक्रममा बहुवर्षे कार्यक्रम र परियोजना नीति तथा कार्यक्रममा समावेश गरिएको उनको जिकिर थियो ।
नीति तथा कार्यक्रममा बढ्दो व्यापार घाटा कम गर्ने प्रयास हुन नसकेको, सार्थक आर्थिक विकासको प्रयास हुन नसकेको, राष्ट्र निर्माणको गति सुस्त भएको, दोहोरो आर्थिक वृद्धिका लागि विश्वसनीय आधार तयार गर्न नसकिएको, स्वदेशमा पर्याप्त रोजगारीका अवसर नहुँदा धेरैभन्दा धेरै युवा विदेशिनु परेको यथार्थलाई नीति तथा कार्यक्रममा समावेश नगरिएको बताउँदै सभापति देउवाले त्यसलाई रोक्ने प्रयास नभएको धारणा व्यक्त गरे ।
सभापति देउवाले आफ्ना पालामा सुरु भएका कार्यक्रमहरुलाई प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आफैँले ल्याएको भनेर अफवाह फैलाएको आरोप लगाए ।
उनले भने, ‘मेरो नेतृत्वको सरकारले नेपाली युवा वैज्ञानिकहरुको प्रतिभा प्रोत्साहन गर्न नानो स्याटलाइट परियोजना सुरु गरेको हो । यो सरकारले आफैँले नेपाललाई अन्तरिक्ष युगमा पु¥याएको भनेर बकम्फुसे दाबी गरेको छ ।’
सभापति देउवाले आफ्नो पालामा ल्याएको सामाजिक सुरक्षा ऐनलाई पनि आफैँले ल्याएजसरी प्रचार गरे पनि कार्यान्वयनमा गम्भीर नभएको लगाए । यस्तै, भेरी बबई डाइभर्सन परियोजना कांग्रेस सरकारकै पालामा सुरु भए पनि ओली सरकारले आफैँले गरेकोजस्तो गरी प्रस्तुत गरेको उनको भनाइ थियो ।






प्रतिक्रिया