रुपन्देही । नेपाली कांग्रेसका जिल्लास्तरीय नेताहरुले बालुवाटार जग्गा काण्डका दोषीलाई तत्काल कारबाहीको दायरमा ल्याउन माग गरेका छन् ।बुटवलमा आयोजित पत्रकार भेटघाटमा नेताहरुले भ्रष्टाचार र जग्गा काण्डका दोषी सबैलाई कानूनअनुसार कारबाही गर्न माग गरेका हुन् ।
बालुवाटार जग्गा काण्डमा आफ्नै पार्टी सभापतिको नामसमेत मुछिएको प्रसङ्ग पत्रकारले उठाएपछि जवाफमा ती नेताले जुनसुकै पार्टीको भए पनि कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए ।
उनीहरूले जनतालाई ढाँट्ने छल्ने कुनै पनि पार्टीका नेतालाई छोड्न नहुने र हाम्रै पार्टीका नेता तथा कार्यकर्ता परे पनि कारबाही गर्नुपर्नेमा जोड दिए ।
कांग्रेस नेता युवराज गिरीले संविधान र नेपालको प्रचलित कानूनबमोजिम सत्यतथ्य जनतासामु ल्याएर दोषीलाई कारबाही गर्न सरकारले आँट गर्नुपर्ने बताए ।
मुलुकमा भ्रष्टाचार र बेथिति बढेको टिप्प्णी गर्दै उनले यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताए ।
प्रतिनिधिसभाको निर्वाचनमा रुपन्देहीको क्षेत्र नं २ बाट उम्मेदवार बनेका गिरीसहित प्रदेशसभाका उम्मेदवार महेशमान सिंह र काजीमान श्रेष्ठ, बुटवल उपमहानगरपालिकाको प्रमुख पदका उम्मेदवार खेलराज पाण्डे, सैनामैना नगरपालिकाका प्रमुखका उम्मेदवार फणिन्द्र शर्मा र तिलोत्तमा नगरपालिकाको प्रमुखका उम्मेदवार रामकृष्ण खाँणले देश र जनताप्रति जवाफदेही हुन सबैलाई अनुरोध गरेका थिए ।
प्रतिक्रिया