मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अन्तर्राष्ट्रिय जगतमा नेपालप्रतिको विश्वास वृद्धि : राष्ट्रपति

अन्तर्राष्ट्रिय जगतमा नेपालप्रतिको विश्वास वृद्धि : राष्ट्रपति


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले  द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको प्रभावशाली प्रस्तुतिले अन्तर्राष्ट्रिय जगत्मा नेपालप्रतिको विश्वास र आकर्षण बढेको बताएकी छन् । 
 
संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले छिमेकी राष्ट्रहरूबाट नेपालका प्राथमिकताहरूमा समर्थन र सहयोग बढेको बताइन् । 
 
नेपालको विकास प्रयासमा मित्रराष्ट्रहरू र विकास साझेदारहरूको साथ र सद्भाव वृद्धि भएको, चीनका  राष्ट्रपतिको निमन्त्रणामा गणतन्त्र नेपालको राष्ट्रपतिको हैसियतमा पहिलोपटक हालै आफूले गरेको चीनको राजकीय भ्रमणबाट दुई देशबीचको बहुआयामिक सम्बन्ध नयाँ उचाइमा पुगेको बताउँदै उनले “समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय  आकाङ्क्षा पूरा गर्न नेपालले अघि बढाउने विकास प्रयासमा सहयोग गर्न चीन सरकार तयार छ,” भनिन् । 
 
राष्ट्रपतिको राजकीय भ्रमणको अवसरमा नेपाल र चीनबीच व्यापार तथा पारवहन प्रोटोकललगायत अन्य छ वटा महत्वपूर्ण सम्झौताहरू सम्पन्न भएका थिए । अन्तर्राष्ट्रिय मञ्चहरूमा राष्ट्रप्रमुख तथा सरकार प्रमुखको तहबाट सम्पन्न भएका उच्चस्तरीय भ्रमण र सम्बोधनले अन्तर्राष्ट्रिय जगत्मा राष्ट्रको गरिमा र सम्मान अभिवृद्धि भएको नीति तथा कार्यक्रममा समावेश गरिएको छ । 
 
महिला र विकाससम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन, पोल्याण्डमा सम्पन्न भएको दिगो विकास र जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रि«य सम्मेलन, कतारको भ्रमण तथा संयुक्त राष्ट्रसंघको महासभा, स्वीट्जरल्याण्डको डाभोसमा भएको विश्व आर्थिक मञ्च एवं कोष्टारिकामा सम्पन्न भएको कार्यक्रमहरूमा नेपालले शान्ति प्रक्रिया, हिमाली पर्यावरण, दिगो विकास, महिला सशक्तीकरण र नेपालको विकासको बारेमा स्पष्ट धारणा राखेको थियो । 
 
यसैगरी भारत र चीनसँगको उच्चस्तरीय भ्रमणको आदानप्रदानबाट छिमेकीहरूसँगको सम्बन्ध थप सुदृढ बनेको तथा ती  भ्रमण र सहभागिताबाट द्विपक्षीय एवं बहुपक्षीय सम्बन्ध र सहयोग विस्तारमा उल्लेखनीय उपलब्धि हासिल भएको राष्ट्रपतिको सम्बोधनमा उल्लेख छ । 
 
नेपालको मौलिक शान्ति प्रक्रिया, हिमाल, वातावरण, लोकतन्त्र, मानव अधिकार, विश्व शान्ति, क्षेत्रीय सहयोग, महिला सशक्तीकरणलगायत साझा हितका विषयहरूमा बौद्धिक छलफल गरी राष्ट्रिय हित प्रवद्र्धन गर्न तथा नेपालको परराष्ट्र नीतिलाई विश्वसामु प्रभावकारी ढंगले प्रस्तुत गर्दै जान आवश्यकताअनुसार सगरमाथा संवाद आयोजना गरिने जनाइएको छ । 
 
त्यसैगरी नेपालको परराष्ट्र नीति राष्ट्रिय हित, पारस्परिक लाभ र सम्मान, अन्तर्राष्ट्रिय प्रतिबद्धता तथा दायित्व र न्यायमा आधारित हुने नीति सरकारले अवलम्बन गरेको छ । 
 
विगतका वर्षहरूमा झै नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय सुरक्षालाई केन्द्रमा राखेर सञ्चालन हुने परराष्ट्र नीतिलाई निरन्तरता दिइएको छ भने अन्तर्राष्ट्रिय जगत्मा राष्ट्रिय प्रतिष्ठाको अभिवृद्धि, छिमेकी राष्ट्रहरू, विकासका साझेदारहरू, श्रम गन्तव्य मुलुकहरूलगायत अन्य सबै राष्ट्रहरूसँगको सम्बन्धलाई थप सुदृढ गर्दै राष्ट्रिय हित अनुकूल बनाइने भएको छ । 
 
सरकारको नीति तथा कार्यक्रमअनुसार निर्यात, लगानी र पर्यटन प्रवद्र्धन एवं प्रविधिमा पहुँच सहज बनाउने गरी आर्थिक कूटनीति सञ्चालन र नेपालको हित प्रवद्र्धनमा योगदान पुग्ने गरी उच्चस्तरीय  भ्रमणको उपयोग गर्दै  नेपाल सदस्य भएका क्षेत्रीय मञ्चहरूलाई अझ प्रभावकारी बनाउन जोड दिइने छ । 
 
संयुक्त राष्ट्रसंघ तथा मानवअधिकार परिषद् र शान्ति निर्माण आयोगलगायत अन्य अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरूमा नेपालको प्रतिनिधित्व र भूमिकालाई थप सशक्त बनाइने छ । नेपालको मौलिक शान्ति प्रक्रिया विश्वकै लागि अनुकरणीय रहेकाले शान्ति प्रक्रियाका अनुभवहरूलाई अन्तर्राष्ट्रियस्तरमा आदानप्रदान गरिने विषयलाई पहिलोपटक सरकारको नीति तथा कार्यक्रममा प्रवेश गराइएको छ ।

शेयर गर्नुहोस:

0
Shares