मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नागरिकता विधेयकविरूद्ध वैशाख २१ गते देशभर आन्दोलनको तयारी

नागरिकता विधेयकविरूद्ध वैशाख २१ गते देशभर आन्दोलनको तयारी


काठमाडौँ । संसद्मा दर्ता भएको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकविरूद्ध वैशाख २१ गते देशभर आन्दोलन गरिने भएको छ । गत साउन २२ गते संसद्मा दर्ता भएको नागरिकतासम्बन्धी विधेयकले लाखौँ विदेशीलाई नागरिकता दिने व्यवस्था गरेको अधिवक्ताहरुले बताएका छन् । 
 
नेपालका लागि नेपाली अभियान र पुनरूत्थानवादी शक्तिको सहकार्यमा बुधबार भरतपुरमा आयोजित नागरिकता विधेयकसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले राष्ट्रघाती विधेयकले एक करोड २० लाख बढी विदेशीलाई फेरि पनि नेपाली नागरिकता दिने व्यवस्था गरेको आरोप लगाए । यस्तो विधेयक पारित भएर नागरिकता ऐन निर्माण भए नेपाल पनि फिजी र सिक्किमजस्तै हुने भन्दै देशको रक्षाका लागि आआफ्ना ठाउँबाट उठ्न आग्रह गरे । 
 
नेपालका लागि नेपाली अभियानले शनिबार काठमाडौँमा गर्न लागेको आन्दोलनमा ऐक्यबद्धता जनाउन उनले आग्रह गरे । काठमाडौँ जान नसके नारायणगढको पुल्चोकमा नै जम्मा भएर विधेयक खारेज गर्न दबाब दिन उनले अनुरोध गरे । 
 
विसं २०६३ सालमा जन्मसिद्धका आधारमा नेपाली नागरिकता पाएका ४० लाख बढी विदेशीका सन्तानलाई अहिले वंशजका आधारमा नागरिकता वितरण गर्न लागिएको उनको आरोप छ । 
 
जन्मसिद्धका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तानलाई अहिले वंशजको आधारमा नागरिकता वितरण भइरहेको भन्दै उनले वितरण रोक्न वैशाख १६ गते सर्वाेच्चमा मुद्दा दायर गरेका थिए । 
मुद्दाको पेशी वैशाख २२ गतेलाई तोकिएको छ । नागरिकता वितरणलाई सर्वाेच्चले नरोके नागरिकहरुले सडकबाटै दबाब दिनुको विकल्प नरहेको उनले बताए । 
 
अधिवक्ता भुवनेश्वर थापाले विदेशी नागरिकसँग विवाह गरेर गएकी नेपाली महिला नागरिकबाट जन्मिएको बच्चाले पनि नेपाली नागरिकता नै पाउने विधेयकमा व्यवस्था रहेको बताए । 
 
संसद्मा विचाराधीन विधेयकले अझै बढी विदेशीलाई भित्र्याउने उनको भनाइ छ । नेपालीलाई अल्पमतमा पारेर नेपाललाई भारतमा गाभ्न स्वयं नेताहरु पनि लागिरहेको उनले आरोप लगाए । कम्युनिस्टको दुई तिहाइ सरकारकै पालामा यस्तो विधेयक पारित गर्न सकिन्छ भनेर विदेशीहरु सक्रिय बनेका उनले बताए । 
 
अधिवक्ता सुरेन्द्र भण्डारीले एक अर्ब २० करोड जनसंख्या भएको भारतको एक प्रतिशतमात्रै जनसंख्या नेपालमा आए पनि यहाँको जनसंख्या दोब्बरले वृद्धि हुने र नेपालीहरु अल्पमतमा पर्ने बताए । संविधान जारी हुनुपूर्व नेपालमा जन्मिएका सबैलाई नेपाली नागरिकता वितरण गर्दा विदेशीहरुलाई पनि नागरिकता गएको उनले बताए । 
 
वीरेन्द्र बहुमुखी क्याम्पसका क्याम्पसप्रमुख गोविन्दप्रसाद सापकोटाले राजनीतिक पार्टीहरुले गरेको कमीकमजोरीको जिम्मेवारी नलिँदा लोकतन्त्र नै समाप्त हुने चरणमा रहेको बताए । अहिलेसम्मका सबै सरकार असहिष्णु देखिएका उनको भनाइ छ । 
 
पुनरूत्थानवादी शक्तिकी अभियन्ता तारा बरालले यस्तो विधेयक पारित भए नयाँ आउने पिँढीलाई नेपाली भएर ससम्मान बाँच्न पनि कठिन हुने भन्दै विधेयक खारेजका लागि दबाब दिन युवाहरुलाई आग्रह गरिन् । भरतपुर १० का शिवराज गिरीले नागरिकता विधेयक राष्ट्रघाती बनेको भन्दै चिन्ता व्यक्त गरे । 
 
वास्तविक नेपाली नागरिकलाई मात्रै नागरिकता वितरण गर्ने गरी विधेयक ल्याउन एकपटक फेरि नागरिकहरु सडकमा आउनुपर्ने अवस्था आइसकेको उनले बताए ।