भरतपुर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वउद्योगमन्त्री नवीन्द्रराज जोशीले सरकार भ्रष्टाचारको दलदलमा फसेको बताएका छन् ।
सरकारले डेढ वर्षको अवधिमा जेजति प्रचार गरे पनि वाइडबडी काण्डदेखि बालुवाटार काण्डले उसको प्रचारले पटाक्षेप गरिरहेको बताए ।
उनले भने, ‘सरकार अधिनायकवादतिर उन्मुख भएको छ, चरम भ्रष्टाचार बढेको छ, राज्य कमजोर भएको छ ।’
नेता जोशीले बालुवाटारको जग्गा हडप्ने दोषीहरुको बचाउमा प्रधानमन्त्री स्वयं लागिपर्नु मुलुककै लागि दुर्भाग्य भएको बताए ।
सरकारको एकपछि अर्को असफलता सार्वजनिक भइरहेको बताउँदै उनले भने, ‘भोलि सिंहदरबार मेरो कोठा हो भने पनि राज्यले केही गर्न सक्दैन । नेपाली जनताले कम्युनिस्टलाई भोट हालेर गल्ती गरियो भनेर अहिले पश्चाताप गरिरहेका छन् ।’
कार्यक्रममा उनले यही तरिकाले वर्तमान सरकार हिँडे देशमा एक–डेढ वर्षमा ठूलो अनिष्ट आइपर्ने ठोकुवा गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठले हरेक मजदुरका आवाज बोकेर नेपाली कांग्रेस हिँडिरहेको बताए । उनले २०७६ साललाई कांग्रेसको गर्व गर्नलायक वर्ष बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा कांग्रेसका पूर्वजिल्ला सभापतिहरु कृष्णलाल सापकोटा, टेकप्रसाद गुरूङ, तोपमान गुरूङ, रामकृष्ण घिमिरे, ट्रेड युनियनकी नेतृ इन्दिरा सापकोटा, पूर्वसांसद् सावित्री बोगटी, कांग्रेसका जिल्ला सचिव उत्तम जोशी, राजीव न्यौपानेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।






प्रतिक्रिया