काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सरकारले श्रमिकको भावनालाई सम्बोधन गर्न नसकेको बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको श्रमिक सङ्गठन ट्रेड युनियन महासंघ (टुकोन) नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले सरकारको गतिविधिले आम श्रमिकहरुमा असन्तुष्टि पैदा हुँदै गएको आरोप लगाए ।
“श्रमिकको हक, हित स्वार्थको रक्षाका निमित्त राप्रपा नेपाल लड्ने बेला आएको छ”, उनले भने । पूर्वउपप्रधानमन्त्री समेत रहेका अध्यक्ष थापाले वालुवाटार जग्गा प्रकरणमा जोकोही दोषी भए पनि कारबाही हुनुपर्ने स्पष्ट पारे । स्थानीय तहमा आफ्नो संगठन विस्तारमा पार्टीका श्रमिक संगठन लाग्नुपर्ने उनको भनाइ थियो ।
राप्रपाका वरिष्ठ नेता दीपक बोहराले श्रमिकको पक्षमा कुनै पनि राजनीतिक दल आबद्ध श्रमिक संगठनले काम गर्न नसकेको बताए । “नेपालका श्रमिकको समस्या समाधानमा लाग्नुभन्दा श्रमिक नेता विदेश गएर रमाउने गरेका छन्”, उनले भने । नेता बोहराले श्रमिकको पक्षमा पार्टी नै लड्नुपर्ने बेला आएको बताए ।
राप्रपाका प्रवक्ता सुशीलकुमार श्रेष्ठले श्रमिकको पक्षमा लड्न महासंघलाई आग्रह गरे । राप्रपाका केन्द्रीय सदस्य देवेन्द्र प्रधानले ट्रेड युनियन महासंघलाई वास्तविक श्रमिकको पक्षमा काम गर्न नयाँ ढंगले अगाडि बढाउनुपर्ने उल्लेख गरे । टुकोनलाई श्रमिकको हक अधिकारका लागि लड्न र पार्टीले लिएको नीति तथा विचारलाई आमजनता माझ लैजान काम गरिने अध्यक्ष हिक्मतजंग भण्डारीले बताए ।
प्रतिक्रिया