विराटनगर । गृहमन्त्री रामबहादुर थापा बादलले नेकपाको सरकार बनेपछि शान्ति सुरक्षामा सुधार आएको दाबी गरेका छन् ।
बिहीबार विराटनगरमा प्रदेश १ स्तरीय सुरक्षा गोष्ठीमा पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री थापाले नेकपाको सरकार बनेपश्चात् देशमा शान्ति सुरक्षाको अवस्थामा सुधार आउनुका साथै आपराधिक घटनामा पनि कमी आएको दाबी गरे ।
कम्युनिष्ट सरकारले देशमा शान्ति, सुशासन र भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आरोप आइरहेका बेला उनले भने पहिलेको तुलनामा शान्ति सुरक्षा आधारभूत रुपमा सुधारिएको बताएका हुन् ।
उनले विखण्डनकारी गतिबिधि गर्ने समूह राजनीतिको मुलधारमा आइसकेको, अन्य समूहहरूलाई पनि मुल धारमा ल्याउने प्रयास भइरहेको गृहमन्त्री थापाले बताए ।
उनले शान्ति सुरक्षामा खलल पु¥याउने छुट कसैलाई पनि नदिने बताउँदै आन्दोलनको नाममा जनताको अधिकार कुण्ठित गरी शान्ति सुरक्षामा अवरोध पु¥याउनेलाई सरकारले कानून बमोजिम कारबाही गर्ने बताए ।
उनले विप्लवलगायतका सबै समूहलाई राजनीतिको मूलधारमा ल्याउने प्रयासमा सरकार लागेको बताए । विभिन्न समूहहरूलाई राजनीतिको मूलधारमा ल्याउन नियन्त्रण र वार्ता दुवै रणनीति सरकारले अघि सारेको बताउँदै विप्लवलाई मूलधारमा ल्याउन वार्ता तथा संवादमार्फत पनि समस्या समाधानको प्रयास गरिरहेको उल्लेख गरे ।
गृहमन्त्री थापाले हिंसात्सक गतिविधि अन्त्य गर्नका लागि विप्लव समूहलाई राजनीतिक मूलधारमा ल्याउने प्रयास भइरहेको बताउँदै विभिन्न माग राखी आन्दोलन गर्ने सबै असन्तुष्ट पक्षलाई सरकारले वार्ता र संवादमा आउन आह्वान गरेको जानकारी दिए ।
विखण्डनकारी समूहलाई समेत मूलधारमा ल्याइसकेको अवस्थामा विप्लव समूहलाई पनि आतंककारी क्रियाकलाप छाडी वार्तामा आउनुको कुनै विकल्प नरहेको बताउँदै उनले विप्लव समूहले जनतामा आतंक सिर्जना गर्नुका साथै हत्याहिंसा तथा निजी र सरकारी सम्पत्ति तोडफोड गरी विध्वंसकारी गतिविधि गरेकै कारण सरकारले उनीहरुको गतिविधि निषेध गरेको स्पष्ट पारे ।
कार्यक्रममा प्रदेश नं १ का १४ वटै जिल्लाका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान आयोग, प्रदेशका सुरक्षा निकायका सुरक्षा प्रमुखहरू, प्रमुख जिल्ला अधिकारीहरूलगायतको सहभागिता रहेको छ ।
प्रतिक्रिया