नेपाल

स्पाइनल इन्जुरी केन्द्र बनाउन जसले गरे तीन करोड दान

स्पाइनल इन्जुरी केन्द्र बनाउन जसले गरे तीन करोड दान


समाजमा लाभ उठाउने मान्छेमात्रै छैनन् । केही यस्ता दानवीर पनि छन्, जसले आफ्नो जीवनमा कमाएको हिस्सा अस्पताल, विद्यालय र सामाजिक काममा लगाउने गरेका छन् । 
 
चितवनको नारायणगढका पुराना रैथाने व्यापारी हुन्, ९० वर्षीय उदयकुमार पिया । जो तनहुँको बन्दीपुरमा जन्मिएर विसं २००५ सालमा चितवन झरेका थिए । पुख्र्यौली व्यवसायलाई निरन्तरता दिँदै नारायणगढमा चितवनमै पहिलो राइस मिल सञ्चालन गर्ने व्यत्तिः उनै हुन् । सूर्योदय राइस मिलका नामले चर्चित उनले आफ्नो जीवनकालमा कपडा पसल, किराना, तेल मिललगायत धेरैथरि व्यवसायमा सक्रिय रहे । 
 
व्यापारिक जीवनका दौरान आफू सामान्य साक्षर भए पनि दुई छोरा र छ वटी छोरीलाई राम्रो शिक्षादीक्षा दिलाए । उनका जेठा छोरा मदन पिया क्यान्सर उपचारका नाम चलेका डाक्टर हुन् भने कान्छा छोरा सुनिल इन्जिनियर ।
 
२० वर्षअघि व्यापार व्यवसायबाट विश्राम लिएका उनलाई १८ वर्षअघि उनकी श्रीमतीले जीवनबाटै विश्राम लिइन् । उनले उनैको स्मृतिमा बेलचोकमा चमेलीदेवी पिया स्मृति विद्यालय स्थापना गरे । 
 
स्पाइनल इन्जुरीको समस्याबाट पीडित भएकाहरुको सहजताको लागि चितवन रोटरी क्लबले ६ वर्षअघिदेखि भरतपुर अस्पतालभित्र स्पाइनल इन्जुरी युनिट सुरु गरेको थियो । व्यवस्थित उपचार केन्द्र बनाउने योजनामा जुटेको रोटरीलाई महानगरले एक बिघा जग्गा उपलब्ध गराएपछि क्लबका पूर्वअध्यक्ष चन्द्रमान श्रेष्ठको पहलमा पियाले तीन करोड दान गर्ने घोषणा गरेका हुन् ।
 
सबैभन्दा ठूलो आर्थिक सहयोग गरेकोले उक्त केन्द्रको नाम नै ‘उदयकुमार चमेलीदेवी पिया चितवन स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्र’ रहने चितवन रोटरी क्लबका अध्यक्ष कपिलबाबु खनालले जानकारी दिए । 
 
दानवीर पियाको सहयोगले हिजो सपनाजस्तै लाग्ने काम अब साकार हुन लागेको अध्यक्ष खनालले बताए ।
 
चितवन रोटरी क्लबको अगुवाइमा रोटरी क्लब अफ रत्ननगर, रोटर क्लब अफ नारायणगढ, रोटरी क्लब अफ नारायणी मिड टाउन, रोटरी क्लब अफ भरतपुर, रोटरी क्लब अफ जावलाखेल, ललितपुर र स्पाइनल इन्जुरी संघ, नेपालसँगको सहकार्यमा उक्त केन्द्र स्थापना गर्न लागिएको हो । 
 
भरतपुर ३ नगरवनमा दुई वर्षभित्र निर्माणसम्पन्न हुने २५ शøया क्षमताको उक्त केन्द्रको चन्दादाता पियाले शिलान्यास गर्दै धेरै वर्ष पहिलेदेखिको सपना पूरा हुने चरणमा पुगेको बताए । उनले भने, ‘मेरो परिवारको धेरै वर्ष पहिलेदेखि सामाजिक क्षेत्रमा सहयोग गर्ने चाहना थियो । त्यो सपना पूरा हुने चरणमा आइपुगेको छ ।’
 
अस्पताल सञ्चालनको लागि करिब १५ करोड रूपैयाँ लाग्ने अनुमान गरिएको छ । संरचना निर्माणको लागि पाँचदेखि सात करोड रूपैयाँ खर्च लाग्ने अनुमान छ । चन्दादाता पियाले उपलब्ध गराएको रकमले मात्रै भवन निर्माणको खर्च नपुग्ने हुँदा बाँकी रकम स्थानीयस्तरबाटै संकलन गर्ने लक्ष्य लिइएको छ ।
 
अस्पतालमा चाहिने आवश्यकीय मेसिन तथा उपकरणहरु रोटरी इन्टरनेसनलको ग्राण्डबाट उपलब्ध हुने अध्यक्ष खनालले बताए । 

शेयर गर्नुहोस:

0
Shares