नेपाल

मौसममा बदलीका कारण तीन दिन हुरीबताससहित वर्षा हुने

मौसममा बदलीका कारण तीन दिन हुरीबताससहित वर्षा हुने


काठमाडौँ । देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुँदा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र हुरीबताससहित हल्का वर्षाको सम्भावना देखिएको छ ।
 
भारतको बिहार र छत्तिसगढको मौसममा बनेको न्यून चापीय रेखाको प्रभावस्वरुप नेपालका पूर्व र मध्य क्षेत्रको मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
 
न्यून चापीय क्षेत्र विद्यमान रहेकाले आइतबारदेखि बदली भएको मुलुकभरको मौसम बुधबारसम्म बदली रहने महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिए । 
 
पूर्व र मध्य क्षेत्रको तुलनामा पश्चिमको मौसममा कम बदली देखिएको छ । साथै पोखरा आसपास क्षेत्रमा स्थानीय मौसम प्रणाली उत्पन्न भई मेघगर्जनसहित हावाहुरीको सम्भावना  देखिएको उनले बताइन् । 
 
नेपालको मौसममा मार्च, अप्रिल र मे महिनाभर प्रि–मनसुनको अवधि रहन्छ । 
 
सोमबार रातिदेखि मंगलबार र बुधबार पनि पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना देखिएको महाशाखाले प्रक्षेपण गरेको छ । 
 
पछिल्लो २४ घन्टाको मौसमी विवरणअनुसार काठमाडौँको अधिकतम् तापक्रम २७ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १२ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।