काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कर्मचारीतन्त्र र कार्यशैलीमा पुरातन विचार र शैली हावी भइराखे त्यसले समग्र परिवर्तनलाई नै समाप्त पार्ने खतरा रहेको औंल्याएका छन् ।
नेपाल टेलिकममा क्रियाशील नेपाल दूरसञ्चार कर्मचारी संघ र नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल टेलिकमबीचको एकता घोषणा सभामा उनले आन्दोलन, संघर्ष र बलिदानको बलमा राजनीतिक परिवर्तन भए पनि जनताले अनुभूति गर्नेगरी परिवर्तनको सकारात्मक परिणति दिन नसकिएको बताए ।
उनले भने, “हामी प्रगतितर्फ होइन, दुर्गतितर्फ जाने गलत परम्परा यसपटक तोड्नु छ । राजनीतिक परिवर्तन र संविधानको मर्मअनुसार अघि बढ्नु छ । यसतर्फ सबैको ध्यान जान जरुरी छ ।”
टेलिकमको विस्तारका लागि दुई कर्मचारी संगठनबीचको एकता साधक हुने बताउँदै दाहालले एकताले समग्र संस्थाकै शक्ति बढेको उल्लेख गरे । सञ्चार प्रविधिको विकासबाट नै ठूलाठूला क्रान्ति सफल भएको भन्दै उनले २१औँ शताब्दीको युगमा टेलिकमले पनि आफूलाई प्रविधिको प्रयोगमा खरो उतार्नुपर्ने बताए ।
उनले टेलिकमले सूचना प्रविधिका क्षेत्रमा आउने दिनमा गम्भीर ढंगले प्रस्तुत हुने र आफूलाई राष्ट्रिय हितको संवाहक र भरपर्दो संस्थाका रुपमा आफूलाई विकसित गर्दै आफ्ना प्रतिस्पर्धीलाई परारस्त गर्नुपर्नेमा जोड दिए ।
उनले भने, “सरकारी, निजी र सहकारीका बीचमा निकै ठूलो प्रतिस्पर्धा चलेको छ, अहिलेको युगमा प्रतिस्पर्धामा खरो उत्रन सकेनौँ भने कुनै पनि अर्थमा आफ्नो एकाधिकारलाई जबर्जस्ती थोपर्न सक्ने अवस्था छैन ।”
नेकपाका केन्द्रीय सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जिम्मेवार भएर कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिए ।
नेपाल टेलिकम कर्मचारी युनियनका अध्यक्ष धीरेन्द्रकुमार दत्तले टेलिकम र कर्मचारीप्रति जिम्मेवार भई सशक्त भूमिका खेल्न आग्रह गरेका थिए ।
प्रतिक्रिया