मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नारायणहिटी सङ्ग्रहालय संरक्षण गर्न जोड

नारायणहिटी सङ्ग्रहालय संरक्षण गर्न जोड


काठमाडौँ ।संसद्को प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले नारायणहिटी सङ्ग्रहालयको स्थलगत अवलोकन गरेको छ । समितिका सभापति रामनारायण विडारीको नेतृत्वमा रहेको टोलीले सङ्ग्रहालयभित्रका विभिन्नस्थलको अवलोकन गरेको हो । 
 
टोलीले नारायणहिटी दरबार, पुस्तकालय, श्रीपेच, घोडातबेला, फरासखाना, श्रीसदनलगायतको अवलोकन गरेको हो । सभापति विडारीले अवलोकनमा सङ्ग्रहालयलाई एउटा राजदरबारको ऐतिहासिक सङ्ग्रहालय बनाउनुपर्ने बताए । उनले सङ्ग्रहालयम रहेका वस्तु खिइँदै गएकाले ती वस्तुको संरक्षणमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । 
 
यस्तै अवलोकनका क्रममा सङ्ग्रहालयभित्रका महत्वपूर्ण वस्तुलाई संरक्षण गर्न नसकिएको पाइएको उहाँले जानकारी गराए । “राजसंस्थाले प्रयोग गदै आएका सामग्री राम्रोसँग संरक्षण गर्न नसकिएको देखियो”, उनले भने, “ती सामग्रीलाई संरक्षण गरेर दीर्घकालीन अवस्थासम्म सर्वसाधारणले हेर्न सक्ने बनाउनुपर्दछ ।”
 
यसैगरी सङ्ग्रहालयमा रहेका पुस्तकालयका करीब १८ हजार पुस्तक संरक्षण नगरिएको अवस्था रहेको पाइएको छ । पुस्तकालयमा पूर्वराजाले अध्ययन गर्नका लागि राखिएका ती पुस्तकलाई कुनै कीटनाशक औषधि प्रयोग नगरिकन राखिएको सङ्ग्रहालयका प्रमुख अद्धेतप्रकाश श्रेष्ठले जानकारी गराए । 
 
उनले पुस्तक कसरी राख्ने भन्ने आफूहरुलाई ज्ञान नभएकाले कुनै कीटनाशक औषधि प्रयोग नगरिएको बताए । ती पुस्तकमा सात वर्ष अगाडि कीटनाशक औषधि राखिए पनि त्यसपछि राखिएको छैन । उनले पुस्तक संरक्षणका लागि सरकारसँग पटकपटक आग्रहसमेत गरिएको बताए । 
 
पुस्तकालयमा प्राचीन चित्रकलासमेत छन् । कोतपर्व, भण्डारखाल पर्वजस्ता महत्वपूर्ण पर्वका चित्र ठूलाठूला पानामा कोरिएका छन् । ती चित्र कहिले र कसले बनाएका हुन् भन्ने कुरा आफूहरुलाई थाहा नभएको सङ्ग्रहालयका शाखा अधिकृत अर्चना खड्काले जानकारी गराए । 
 
उहाँले ती पेन्टिङ गरिएका चित्रकलालाई संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो । विसं २०६५ फागुन १६ गतेदेखि सर्वसाधारणका लागि सङ्ग्रहालय सर्वसाधारणका लागि खुला गरिएको थियो । यस्तै गत असोज २९ गतेदेखि सर्वसाधारणका लागि ‘श्रीपेच’को अवलोकन गर्ने व्यवस्था गरिएको हो भने मङ्सिर ७ गतेबाट थप १० कोठाको अवलोकनको व्यवस्थासमेत गरिएको छ । 
 
यही फागुन मसान्तसम्म ३१ लाख पाँच हजार ७५२ जना सर्वसाधारणले सङ्ग्रहालयको अवलोकन गरेको सङ्ग्रहालयका प्रमुख श्रेष्ठले जानकारी दिए । अवलोकनबाट करीब रु २३ करोड ६३ लाख ६९ हजार ८८५ राजस्व सङ्कलन गरिएको छ । अवलोकन टोलीमा समितिका सदस्य विना पोखरेल, नैनकला ओझा, शान्तिदेवी अधिकारी रहेका थिए ।
 
सभापति विडारीले अझै पनि धेरे वस्तुलाई अवलोकनका लागि देखाउन नसकिएको भन्दै सङ्ग्रहालयभित्रका हरेक वस्तु सर्वसाधारणलाई अवलोकन गराएर शुल्क लिन सकिने बताए । 

शेयर गर्नुहोस:

0
Shares