चितवन । चितवन क्षेत्र नं २ का प्रतिनिधिसभा सांसद् तथा कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले विपद् जुनसुकै बेला आउन सक्ने भन्दै त्यसका लागि तयार रहनुपर्ने बताएका छन् ।
आइतबारबाट कुरिनटारस्थित प्रगति पाठशालामा सुरू भएको इच्छाकामना स्काउट क्याम्पमा बोल्दै सांसद् पोखरेलले भने, ‘भूकम्प, बाढीपहिरो, आगलागी, हुरीवर्षाले कतिखेर कहाँ असर गर्छ भन्न सकिँदैन, त्यसैले विपद्को समयमा काम लाग्ने गरी सबै तयारी अवस्थामा रहनु आवश्यक छ ।’
विद्यार्थी जीवनमा स्काउटमा लागेका विद्यार्थी पछि पनि निस्वार्थ समाजसेवामा लाग्ने गरेको उनले बताए । समाज परिवर्तनको जिम्मा अब विद्यार्थीको काँधमा रहेको उल्लेख गर्दै उनले भने, ‘अतिरिक्त क्रियाकलापसँगै अध्ययनमा विशेष चासो दिनु आवश्यक छ ।’ पढाइ पहिलो काम भएकोले त्यसलाई ध्यान दिएपछि अरु काममा लाग्नुपर्ने भन्दै सांसद् पोखरेलले विपद्को विषयमा पाठ्यक्रमबाटै पूर्ण जानकारी दिलाउनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै प्रदेशसभा सांसद् मिलनबाबु श्रेष्ठले विपद्को समयमा स्काउट, रेडक्रसजस्ता संस्थाले खेलेको भूमिका निकै उल्लेखनीय रहेको बताए । विद्यार्थीहरुलाई विपद्मा कसरी काम गर्न सकिन्छ भनी निरन्तर हरेक कक्षामा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान दिनु आवश्यक रहेको सांसद् श्रेष्ठले बताए ।
जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले अध्ययन र समाजसेवा सँगसँगै गर्ने भएकाले स्काउटमा लागेकाहरुको समाजमा फरक पहिचान र मह¤व रहेको बताए । स्काउटमा आबद्ध भएका विद्यार्थीहरु बढी लगनशील, अध्ययनशील, इमानदार, कर्तव्यनिष्ट, हिम्मतिलो हुने उल्लेख गर्दै प्रमुख डल्लाकोटीले विद्यार्थीलाई किताबी ज्ञानमात्र नभई अन्य क्रियाकलापमा पनि सहभागी गराउन सकिएमा शिक्षाको बहुआयामिक लक्ष्यहरु प्राप्त गर्न सकिने बताए ।
कार्यक्रममा बोल्दै चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले शैक्षिकसँगै खेलकुद गतिविधि गर्न सकिएमा विद्यार्थीहरुको शारीरिक र मानसिक विकास गर्न सकिने बताए । इच्छाकामना गाउँपालिका प्रमुख गीता गुरूङले चितवनका अन्य स्थानीय तहभन्दा फरक रहेको यस स्थानीय तहमा गाउँपालिका चिनाउने खालको विभिन्न कार्यक्रम हुनु खुसीको कुरा रहेको बताइन् ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयका प्राचार्य टंकप्रसाद त्रिपाठीले पहाडी भूगोलमा रहेको यस विद्यालयले स्काउट क्याम्पको जिम्मेवारी पाउनु गौरवको विषय रहेको बताए ।
चितवन स्काउटका आयुक्त तीर्थराज न्यौपानेले स्काउटको गरिमालाई अझै उँचो बनाउन सबै पक्षको उत्तिकै साथ र सहयोग आवश्यक रहेको बताए । उनले विपद् व्यवस्थापनका स्काउट क्याम्पले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
करिब २९ विद्यालय सहभागी रहेको यस क्याम्पमा ३८१ विद्यार्थी र शिक्षकशिक्षिकाहरु रहेका छन् ।
प्रतिक्रिया