कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका कृषि संकाय प्रशासनिक सहायक डीन प्राध्यापक विष्णुराज ओझामाथि भएको सांघातिक आक्रमण र कालोमोसो प्रकरणप्रति नेपाली काँग्रेस चितवनले ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठद्धारा शुक्रबार जारी विज्ञप्तिमा प्राध्यापक ओझामाथि भएको सांघातिक आक्रमण र व्यवहार प्राज्ञिक क्षेत्रभित्रको नग्न व्यवहार भएको भन्दै पार्टीको ध्यानाकर्षण भएको जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ–‘प्राज्ञिक क्षेत्रभित्र भएको निन्दनीय कार्यको विरुद्ध देशभरका प्रजातन्त्रवादी प्राध्यापकहरु एक भएर लाग्नुपर्छ र दोषीलाई कारबाही गरिनुपर्छ ।’
घटनाको विषयलाई लिएर प्रजातन्त्रवादी प्राध्यापक संघले गरेको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै दोषीलाई कारबाही गर्न प्रशासनसँग मागसमेत गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ–‘जिल्लाभित्र रहेको एकमात्र विश्वविद्यालयको निरीह प्रशासन र अराजक वातावरण बढिरहने र यस्ता घटनाहरु घटिरहने हो भने विश्वविद्यालयमा गम्भीर अवस्था सृजना हुन्छ ।’ सम्बन्धित सरोकारवाला पक्षहरुबाट गरिएको न्यायपूर्ण मागप्रति गम्भीर हुनसमेत विज्ञप्तिमा आग्रह गरिएको छ ।
यसैगरी प्रजातन्त्रबादी प्रध्यापक संघ प्रदेश नम्बर ३ ले पनि सो घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । संघका प्रदेश संयोजक प्राध्यापक विष्णु गौतमद्धारा जारी विज्ञप्तिमा यस घटनाले सिंगो प्राज्ञिक क्षेत्रलाई असर परेको उल्लेख छ ।
यस्ता घटनाले प्राध्यापकहरुको मनोबल गिर्ने भन्दै दोषीलाई अविलम्ब कारबाही गर्न आग्रहसमेत गरिएको छ ।
प्रतिक्रिया