चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले सरकारले इमान्दारिताका साथ जनताको पक्षमा काम गर्नुपर्ने बताएका छन् । चितवनको भण्डारामा आयोजित स्व नेता जागृतप्रसाद भेटवालको प्रथम स्मृति सभालाई सम्बोधन गर्दै उनले कम्युनिष्ट सरकारप्रति जनताले ठूलो आशा र भरोसाका साथ दुई तिहाइ बहुमत दिएकाले जनइच्छाबमोजिम काम गर्नुपर्ने बताए ।
उनले जनताबीच लोकप्रियता हासिल गर्न वडादेखि केन्द्रसम्म सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे । “वर्तमान अवस्थामा नेपालमा प्रतिपक्ष कमजोर छ”, नेता नेपालले भने, “एक हिसाबले मैदान खाली जस्तै छ तर यसो भनेर विचलित हुने अवस्था छैन ।” सरकारको नेतृत्व गरेर जनताको पक्षमा लोकप्रिय काम गर्न नसके जनताले सजाय दिने उनले बताए।
विश्वमा कम्युनिष्ट पार्टीहरु अलोकप्रिय भइरहेका बेला नेपालमा भने कम्युनिष्टहरुको कामका कारण लोकप्रियता बढ्दै गएको उनको भनाइ छ । उनले पार्टीमा जागृतप्रसाद जस्ता नेताहरुको जगका कारण लोकप्रियता बढेको बताए। “भेटवाल सरल नेता हुनुहुन्थ्यो”, उनले भनने, “उहाँको व्यवहार, आचरण र त्याग हाम्रा लागि उदाहरण हुन् ।” भेटवालबाट शिक्षा लिन सबै जनप्रतिनिधिलाई नेता नेपालको सुझाव छ ।
यस्तै स्मृति सभामा नेकपाका सचिवालय सदस्य बामदेव गौतमले एक वर्षदेखि पार्टीले आफूलाई कुनै भूमिका नदिएको गुनासो गर्नुभयो । “एक वर्षदेखि म पार्टीको कुनै भूमिकामा छैन”, उनले भने, “म पार्टीभित्र बेरोजगार भएको छु ।” भेटवालले देखेका सपना र अधुरा काम सम्पन्न गर्न सके उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने नेता गौतमको भनाइ छ ।
यस्तै नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले चितवनमा कम्युनिष्ट पार्टी निर्माणमा भेटवालको योगदान महत्वपूर्ण रहेको बताए। भेटवालको उदारता र आत्मबल प्रेरणाको स्रोत रहेको उल्लेख गर्दै उनले व्यक्ति र पार्टीभन्दा पनि जनताप्रति उत्तरदायी हुने नेता भएको बताए ।
सो स्मृति सभामा स्व नेता भेटवालकी छोरी सृजना भेटवालले बुबाले आफ्नो राजनीतिक जीवन सधैँ जनताका लागि समर्पित गरेको बताइन । उहाँका अधुरा सपना पूरा गर्न पार्टी र सरकारबाट जनताप्रति समर्पित भएका काम गर्न अनुरोध गरिन ।
नेता भेटवालको २०७४ चैत २१ गते काठमाडौँको वीर अस्पतालमा क्यान्सरको उपचारका क्रममा निधन भएको थियो । स्मृति सभामा नेकपाका स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, काशिनाथ अधिकारी, केन्द्रीय सदस्य केशवलाल श्रेष्ठ, कृष्ण खनाल, देवी ज्ञवाली, केदार न्यौपाने, सांसद कृष्णभक्त पोखरेल, प्रदेश नं ३ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा, प्रदेशसभा सदस्य विजय सुवेदी, कञ्चन खनाल लगायतको सहभागिता रहेको थियो । कार्यक्रम नेकपाका नेता यमबहादुर परियारको अध्यक्षतामा भएको थियो । रासस
प्रतिक्रिया