रुपन्देही । अपहरणमा परेकी पत्रकार विन्दु चौहानकी छोरी नेपाल भारतको सिमानामा बुधबार बिहान फेला परेकी छन् । चौहानकी १८ वर्षीया अपाङ्गता भएकी छोरी ममता रातिदेखि हराएकी थिइन् ।
अपाङ्गता भएका कारण हिँड्न बोल्न नसक्ने उनलाई अज्ञात समूहले अपहरण गरी छाडेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।
गएराति लुम्बिनी सांस्कृतिक नगरपालिका–१० आफ्नै निवासबाट अपहरणमा परेकी ममता लुम्बिनीको मोग्लाहादेखि एक किलोमिटरको दुरीमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख हृदय थापाले जानकारी दिए ।
केही दिनअघि लुम्बिनीमा गोरु तस्करीसम्बन्धी समाचार लेखेका कारण चौहानलाई ज्यान मार्ने र परिवारलाई समेत पीडा दिने धम्की आएको थियो । “गोरु तस्करीको समाचार लेखेपछि मलार्इ मार्ने धम्की दिएका थिए”, उनले भने, “मलाई तर्साउन तस्करले नै मेरो छोरी अपहरण गरेको हुनुपर्छ, समाचार लेखेकै कारण म र मेरो परिवार असुरक्षित छौँ ।”
अपहरणपछि भेटिएकी ममताको मानसिक अवस्थामा आघात पुगेको हुनसक्ने भन्दै उपचारका लागि भैरहवाको भीम अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । अपहरणमा संलग्नको खोजी भइरहेको प्रहरी प्रमुख थापाले बताए । उनले भने, “पत्रकार चौहानलाई धम्की दिने र अन्य आशंका भएकालाई पक्राउ गरी दोषीलाई कारबाही गर्छौ ”






प्रतिक्रिया