मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आँखा बैंक सञ्चालन गर्न डेढ करोड रुपैयाँ दान

आँखा बैंक सञ्चालन गर्न डेढ करोड रुपैयाँ दान


चितवन । नेपाल नेत्रज्योति संघ चितवनले यहाँ सञ्चालन गरेको भरतपुर आंँखा अस्पतालमा आंँखा बैंक सञ्चालन तथा नानी संकलन केन्द्रका लागि एकै व्यक्तिले रु एक करोड ५० लाख आर्थिक सहयोग गरेका छन् । 
 
भरतपुर महानगरपालिका–१२ निवासी भीमराज पाठकले नानी प्रत्यारोपण तथा सङ्कलन सेवा केन्द्रका लागि सहयोगस्वरुप उक्त रकम प्रदान गरेका हुन् । उनले दिएको सहायता रकमलाई अक्षयकोष स्थापना गरी केन्द्रको सञ्चालनको लागि खर्च गरिने अस्पतालका अध्यक्ष कृष्णराज धरेलले बताए । 
 
पाठकको अग्रसरतामा आंँखा बैंक एवं नानी संकलन केन्द्र निर्माण गर्न लागिएकाले केन्द्रको नाम ‘भीमराज उषामाया पाठक’ आंँखा बैंक नानी संकलन केन्द्र राखिएको छ । उषामाया पाठककी श्रीमती हुन् । 
 
उनले पूर्वीचितवनको खुरखुरेमा रहेको एकबिघा जमीन बिक्री गरी दान गरेको बताए । आफू पनि आँखाको समस्यामा रहेको भन्दै उनले देख्न नपाउनेका लागि यो सुन्दर संसार देखाउन आफूले सहयोग गरेको बताए । जीवनमा मरेर जाँदै गर्दा आफूले केही नलाने भए पनि आफूले दिएको दानका कारण धेरैले संसार देख्न पाउने भएकाले यस्तो पुण्यकाममा सहभागी भएको उनले बताए ।
 
आँखा अस्पतालमा अन्य दाताले आफ्ना मातापिताको नाममा दान गरेको भए पनि आफूले जीवित रहँदै श्रीमान् श्रीमतीको नाममा यस महान कार्यमा सहभागी भएको बताए । क्षयरोग निवारण संस्थाका पूर्वअध्यक्षसमेत रहेका पाठकले विद्यालय, सरकारी अस्पताल, गणेशधामलगायतका संघ संस्थामा पनि सहयोग गर्दै आएका छन् । 
 
आँखा बैंक र केन्द्रका लागि चाहिने पूर्वाधार, उपकरण र भण्डारण कक्षका लागि रु १० करोड खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष धरेलले जानकारी दिए । यसका लागि अन्य दाताबाट रकम सङ्कलनका लागि पहल भइरहेको छ । हाल अस्पतालले मरणोपरान्त आंँखा दान गर्ने व्यक्तिको विवरण राख्नुका साथै आंँखा प्रत्यारोपण गर्दै आएको छ । 
 
नानीको प्रशोधन र भण्डारण कक्षको अभावमा हाल काठमाडौँको तिलगङ्गामा आंँखाको नानी प्रशोधन एवं भण्डारण गर्ने गरिएको छ । हालसम्म मरणोपरान्त २६५ जनाले आँखा दान गरेका छन् । अस्पतालले यस क्षेत्रका चार जनाको आठवटा आँखा सङ्कलन गरी तिलगङ्गा पठाएको धरेलले बताए । तिलगङ्गाबाट ५५ वटा आँखा ल्याएर प्रत्यारोपण गरिएको अस्पतालका मेडिकल डाइरेक्टर प्राडा रघुनन्दन वेञ्जुले बताए । 
 
उनले मृत्युपछि ६ घण्टाभित्र आँखा झिक्नुपर्ने भन्दै जतिसक्दो छिटो प्रयोग गर्दा आँखाको ज्योति राम्रो देखिने बताए । सामान्यतया एक साताभित्र आँखा प्रत्यारोपण गर्नुपर्ने उनको भनाइ छ । भरतपुरमा मुख्य अस्पतालसँगै यसले नवलपुरको कावासोती, पर्साको ठोरी, धादिङको सल्यानटार, बाराको सिम्रौनगढ, चितवनको माडी, रत्ननगर, पर्सा, चनौली र सौराहामा आँखा उपचार केन्द्र सञ्चालन गर्दै आएको छ । 
 
हरेक वर्ष एक लाख ५० हजार बढी बिरामीले अस्पतालबाट सेवा लिँदै आएका छन् । अस्पतालले भरतपुर हाइटमा बहिरङ्ग सेवा सञ्चालन गरिरहेको छ । अस्पतालले ४१औँ नेत्रज्योति संघ र ३१औँ अस्पतालकोे स्थापना दिवसका अवसरमा बुधबारबाट सप्ताहव्यापी कार्यक्रम गर्दैछ ।