काठमाडौँ । गोर्खा भूतपूर्व सैनिक संघले बेलायती सेना र गोरखा भूपू सैनिकबीच हुँदै आएको विभेद अन्त्य नभएसम्म आफूहरुको संघर्ष अन्त्य नहुने जनाएको छ ।
संघले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा सन् १९९७ जुलाई १ अघि सेवा निवृत्त गोरखा भूतपूर्व सैनिकमाथिको तलब, निवृत्तिभरण र अन्य सुविधा बेलायती सैनिकलाई सरह बराबरी नदिएको गुनासो गरे ।
संघका अध्यक्ष कृष्णकुमार राईले हालै बेलायती रक्षा राज्यमन्त्रीको नेपाल भ्रमणपछि गोरखा भूपूसैनिकका लागि गरेको प्याकेज घोषणाबाट आफूहरु सन्तुष्ट नभएको बताउँदै सबैखालका सेवासुविधा बेलायती सैनिकसरह उपलब्ध हुनुपर्ने माग गरे ।
उनले गोरा सेना र गोर्खा सैनिकबीच पेन्सनमा मात्रै २९५ प्रतिशत विभेद रहेको बताउँदै यसको समस्या समाधानका लागि नेपाल सरकार र बेलायत सरकारले पहल गर्नुपर्ने बताए ।
संघका उपसभापति मणि किराँत वान्तवाले पेन्सनको मागमात्र पूरा गरे पनि आफूहरुको मागको ९५ प्रतिशत माग सम्बोधन भएको ठहरिने बताउँदै बेलायत सरकारले विभेद नहटाएसम्म आफूहरुको आन्दोलन स्थगित नहुने बताए ।
नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का केन्द्रीय सदस्य राजेन्द्र राईले गोर्खा भूतपूर्वसैनिकको समस्या समाधानका लागि सहयोग गर्न सांसदले आफ्नो तर्फबाट सक्दो सहयोग गरिरहेको बताए ।
अवकाश प्राप्त पूर्वगोरखा सैनिक डा चन्द्र लक्सवाले गोरखा सैनिकबीचको सेवासुविधामा विभेदविरुद्ध आफूहरुले लामो समयदेखि आन्दोलन गर्दै आएको बताउँदै यसलाई सम्बोधन भएन भने आफूहरुले थप आन्दोलन गर्ने बताए । रासस






प्रतिक्रिया