नेपाल

विप्लव समूहलाई चैत्रभित्रै मूलधारमा ल्याइन्छ : प्रधानमन्त्री ओली

विप्लव समूहलाई चैत्रभित्रै मूलधारमा ल्याइन्छ : प्रधानमन्त्री ओली


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई चैतभित्र राजनीतिक मूलधारमा ल्याइने दाबी गरेका छन् । 
 
नयाँ बानेश्वरस्थित संसद् भवनमा सोमबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसदलाई सम्बोधन गदै उनले विप्लव समूहको अतिवादी क्रियाकलापलाई अन्त्य गरिने स्पष्ट गरे । 
 
उनले थपे, “सके राजनीतिक तवरबाटै नसके जेलमा कोचेर भए पनि नक्कली कमरेडलाई राजनीतिक मूलधारमा ल्याइने छ ।” 
 
अहिले विप्लव समूहले कम्युनिष्टको सरकारलाई असफल बनाउने, लोकतन्त्रलाई धरापमा पार्न खोज्ने, विकास निर्माणको काम हुन नदिने र सरकारको लक्ष्य समाजवादलाई अवरोध गर्न खोजेको बताउँदै उनले भने, ‘उनीहरु सहजरुपमा आए ठीकै छ, नआए जेलमा कोचेर भए पनि राजनीतिक मूलधारमा ल्याइन्छ ।’
 
प्रधानमन्त्री ओलीले आफूहरुले कम्युनिष्ट भनेर विप्लवको समूहलाई सहिष्णुता देखाए पनि उनीहरुले भने आफ्ना नेतालाई मार्ने भनेर कार्यकर्ता खटाएको जिकिर गरे । 
 
उनले शान्ति प्रक्रियालाई चाँडो टुग्यांउनका लागि सरकारले सबै पक्षसँग छलफल गर्दै सहमति गराउन थालेको जानकारी दिए । ‘शान्ति प्रक्रियाको काम अव लामो समयसम्म राखेर कसैलाई खेल्न दिनुहँुदैन’, उनले भने, ‘कानूनी संरचना तयार भइसकेकाले अब समुचित ढंगले अविलम्ब शान्ति प्रक्रियालाई टुङग्याउनु पर्छ ।’
 
उनले मन्त्रिपरिषद् बैठकले शान्तिप्रक्रिया टुंग्याउने दुई आयोग सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न गठित आयोगका पदाधिकारी सिफारिस गर्नका लागि सिफारिस समितिसमेत गठन गरिने बताए ।