नेपाल

महाधिवेशनले पारित गरेको दृष्टिकोण नै पार्टीको लाइन : नेता सिंह

महाधिवेशनले पारित गरेको दृष्टिकोण नै पार्टीको लाइन : नेता सिंह


भद्रपुर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले संघीयता, गणतन्त्र र धर्म निरपेक्षताको विषयमा महाधिवेशनले पारित गरेको दृष्टिकोण नै पार्टीको आधिकारिक ‘लाइन’ भएको प्रष्ट पारेका छन् । 
 
विर्तामोडमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता सिंहले पार्टीका विभिन्न नेताले महाधिवेशनको लाइनविपरीत बोलेको विचार निजी रहेको स्पष्ट पारे । 
 
उनले भने, “नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले आफ्नो अलग्गै धारणा राख्न पाउने नेताको पनि अधिकार हो । तर, पार्टीको आधिकारिक धारणा के हो भनेर प्रश्न उठ्यो भने कुनै अलमलमा पर्न जरुरी छैन, महाधिवेशनले पारित गरेको दृष्टिकोण नै पार्टीको धारणा हो ।”
 
फरक प्रसंगमा उनले सत्तासँग असन्तुष्ट विप्लव समूहलाई वार्तामा ल्याउनेसमेत औकात अहिलेको सरकारसँग नभएको टिप्पणी गरे । 
 
नेपाली कांग्रेसको नेतृत्वमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सशस्त्र संघर्षमा रहेको तत्कालीन विद्रोही माओवादीलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याएको स्मरण गर्दै उनले अविलम्ब विप्लव समूहलाई पनि वार्तामा ल्याएर समस्या हल गर्न सरकारसँग आग्रह गरे ।