नेपाल

कडा सुरक्षाबीच १९ बन्दीले दिए एसइई परीक्षा

कडा सुरक्षाबीच १९ बन्दीले दिए एसइई परीक्षा


पर्सा । विभिन्न अपराधमा कैद सजाय भोगिरहेका १९ युवा आज वीरगञ्जबाट मध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी भएका छन् । एसइई परीक्षाको आज पहिलो दिन नियमित अङ्ग्रेजी विषयको परीक्षामा वीरगञ्ज कारागारबाट १६ र बाल सुधार केन्द्रबाट तीन जनाले सहभागिता जनाएका हुन् । 
 
लागुऔषधलगायत मुद्दामा पक्राउ परेका युवालाई कडा सुुरक्षा व्यवस्थाका बीच कारागारभित्रै परीक्षा दिने व्यवस्था मिलाइएको कारागारका निमित्त प्रमुख गणेश भण्डारीले जानकारी दिए । उनले  वीरगञ्ज कारागारबाट १६  र बाल सुधार  केन्द्रबाट तीन युवा परीक्षामा सहभागी भएको बताए । 
 
कारागार परिसरमा  विद्यालयका शिक्षकले कैदी–बन्दीलाई परीक्षाको पूर्वतयारी गराइएको  निमित्त प्रमुख भण्डारीले जानकारी दिए ।
 
एसइई परीक्षामा सहभागिताका लागि यस वर्ष पर्साबाट नियमिततर्फ सात हजार ८५७, पुनःपरीक्षातर्फ ३५० र प्राविधिक विषयतर्फ १८२ले फारम भरेका छन् । उक्त परीक्षाका लागि वीरगञ्ज महानगरपालिकाभित्र १४ र ग्रामीण क्षेत्रमा १० गरी जिल्लामा  कूल २४  परीक्षा केन्द्र तोकिएको छ । (रासस)