नेपाल

होलीमा जथाभावी चलाउने ९१८ सवारी चालकलाई कारबाही

होलीमा जथाभावी चलाउने ९१८ सवारी चालकलाई कारबाही


काठमाडौँ,  । ट्राफिक प्रहरीले होली पर्वमा उपत्यकाभित्र जथाभावी रुपमा सवारी साधन चलाउने ९१८ चालकलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज होली पर्वका अवसरमा ट्राफिक नियम उल्लङ्घन गर्ने ९०५ दुईपाङ्ग्रे र १३ वटा चारपाङ्ग्रे सवारी साधनलाई कारबाही गरेको हो । 
 
महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले मादक पदार्थ सेवन गरी सवारी चलाउने, मोटरसाइकलमा तीन जना राखेर चलाउने, तीव्र गतिमा चलाउने र ठूलो आवाज निकालेर चलाउने चालकलाई कारवाही गरिएको जानकारी दिए । 
 
महाशाखाले तीनजना राखेर चलाउने ७६, हेल्मेट नलगाई चलाउने ४३, कागजपत्र नलिई चलाउने ३३०, मादक पदार्थ सेवन गरी चलाउने १३५, जथाभावी लापरवाही तरिकाले चलाउने ३६, सरकारी २५ र अन्य कसुरमा ३० चालकलाई कारबाही गरेको छ ।
 
जसमध्ये २४३ सवारी साधनलाई कारबाही गरेर छाडेको र बाँकी ६७५ सवारी साधनलाई महाशाखामा ल्याएर राखिएको छ । महाशाखाले होली पर्वलाई दुर्घटनारहित र मर्यादित बनाउन ५०० भन्दा बढी ट्राफिक प्रहरी खटाएको थियो । 
 
बिहान ७ देखि बेलुका ७ बजेसम्म महाशाखाले ७७ स्थानबाट ट्राफिक जाँच गरेको थियो भने १९ वटा मोबाइल चेकजाँच र मोटरसाइकलमा ट्राफिक प्रहरी परिचालन गरेको महाशाखाले जनाएको छ । महाशाखाले होली पर्वमा कारबाही परेका सवारी साधनलाई अनिवार्य ट्राफिक कक्षामा सहभागी हुने व्यवस्था गरेको छ । रासस