काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले सरकारले स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा चन्द्रकान्त राउत (सीके) समूहसँग गरेको सम्झौताका विषयमा आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद् थापाले भने, “सहमतिपत्र सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्री र नेकपाका अन्य नेताहरुसमेत आफैँ सहभागी हुनुभएको छ, त्यसबारेमा सरकारले चित्तबुझ्दो जवाफ दिनुपर्छ ।”
शुक्रबार सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा र डा स्वतन्त्र मधेस गठबन्धनको तर्फबाट संयोजक चन्द्रकान्त राउत (सीके) समूहसँग ११ बुँदे सहमति भएको थियो ।
उनले सहमतिको भाषामा अस्पष्टता रहेको र दुई पक्षले आ–आफ्नै तरिकाले व्याख्या गरेको चर्चा गर्दै प्रश्न गरे– “केका लागि जनमतसंग्रह र कसका लागि जनमतसंग्रह ? हामीलाई जवाफ चाहिन्छ ।”
आइतबारै पत्रकारसँग कुराकानी गर्दै नेता थापाले पार्टीभित्र देखिएका गुटउपगुट अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । उनले भने, “पार्टीको सभापति सबैको सभापति हो, उहाँ सभापति नहुँदा गुटउपगुट बनाउन मिल्छ, तर सभापति हुुँदा पनि गुट बनाउनु विधानविपरीत हुन्छ, त्यसैले त्यसको अन्त्य गरिनुपर्छ ।”
प्रतिक्रिया