मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकार र सीके राउतबीच ११ बुँदे सहमतिपत्रमा हस्ताक्षर

सरकार र सीके राउतबीच ११ बुँदे सहमतिपत्रमा हस्ताक्षर


काठमाडौँ । सरकार र पृथकतावादी मधेस आन्दोलनका अभियन्ता सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति भएको छ । 
 
राष्ट्रियसभा गृहमा आयोजित विशेष घोषणा सभा कार्यक्रममा दुई पक्षबीच ११ बुँदे सहमतिमा हस्ताक्षर भएको हो । सहमतिमा गठबन्धनका तर्फबाट सीके राउत र सरकारकातर्फबाट गृहमन्त्री रामबहादुर थापा बादलले हस्ताक्षर गरेका छन् । 
 
सहमतिपत्रमा सिके राउत स्वतन्त्र मधेसको पृथकवादी गतिविधि छाडेर मुलधारको राजनीतिमा फर्किने भएका छन् । त्यसैगरी सरकारले सिके राउतले गर्दै आएको गतिविधिलाई शान्तिपूर्णरुपमा सञ्चालनमा अवरोध नगर्ने सहमति गरेको छ । 
 
सहमतिमा गठबन्धनका नेता तथा कार्यकर्तामाथि लगाइएका राज्यविरुद्धका अपराधलगायत सबै राजनीतिक मुद्दा फिर्ता लिइने र कारागारमा रहेका सम्पूर्ण नेता तथा कार्यकर्ता निशर्त रिहा गरिने जनाइएको छ । 
 
यस्तै, यसअघि तयार पारिएका र पहिले प्रचलनमा रहेका किताब, पर्चा, पम्पलेट, घोषणापत्र, गीत, नक्सा, नारा, झण्डा, अनलाइन सामग्री आदिलाई भविष्यमा कारवाहीको विषय नबनाइने र आगामी दिनमा संविधानको व्यवस्था र यस सहमति प्रतिकूलका प्रचार सामग्री उत्पादन र वितरण नगरिने सहमतिमा छ ।
 
गठबन्धनका नेता, कार्यकर्ता तथा समर्थकलाई नेपालको संविधानप्रदत्त अधिकारको प्रयोग गर्दै नेपालभित्र बसोबास गर्न, जीविकोपार्जन गर्न, सङ्घसंस्था वा पार्टी खोल्न वा सङ्गठित भएर मूलधारको राजनीति गर्न कुनै किसिमको अवरोध खडा नगरिने र त्यस्ता अधिकार प्रयोग गरेबापत राज्यद्वारा कुनै किसिमको कारवाही नगरिने सहमतिमा उल्लेख छ । 
 
यसैगरी गत भदौ १५ गते नेपाल प्रहरीको हिरासतमा मृत्यु भएका गठबन्धनका बाँके जिल्ला संयोजक राममनोहर यादवको परिवारलाई राज्यद्वारा उचित क्षतिपूर्तिका साथै परिवारका एक सदस्यलाई रोजगारीको व्यवस्था गरिने र गठबन्धनको आयोजनमा सञ्चालित आन्दोलनका क्रममा घाइते भएकाको उपचारको जिम्मा सरकारले लिने सहमति भएको छ ।