काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारीको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपतिस्थित आर्यघाटमा नेता अधिकारीको पार्थिव शरीरमा सुपुत्रीत्रय लुना, लिमा र लिजाले संयुक्तरूपमा दागबत्ती दिएका थिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । यसअघि नेपाल सरकारका तर्फबाट उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले नेता अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका थिए ।
नेता अधिकारीको पार्थिव शरीरमा उनकी धर्मपत्नी सविता, नेकपाका महासचिव विष्णु पौडेल, नेकपाका नेता जनार्दन शर्मा तथा नेपाली काङ्ग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा रामशरण महत, डा मीनेन्द्र रिजाललगायत नेता तथा कार्यकर्ताले श्रद्धाञ्जलि अर्पण गरेका थिए ।
सोही अवसरमा सशस्त्र प्रहरी बलको एक टुकडीले उनीप्रति सम्मान गारत अर्पण गरेको थियो । नेता अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै एक मिनेट मौनधारणसमेत गरिएको थियो ।
नेपाली कम्युनिष्ट आन्दोलनका अग्रणी नेता अधिकारीको शनिबार राति ९ः३५ बजे काठमाडौँको ह्याम्स अस्पतालमा ८३ वर्षका उमेरमा निधन भएको थियो । उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि आज बिहान नेकपाको
केन्द्रीय कार्यालय धूम्रबाराहीमा राखिएको थियो । उनको पार्थिव शरीरमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतले पुष्पहार अर्पण गरी श्रद्धाञ्जलि दिएका थिए ।
जनताका मोहन अर्थात् भरतमोहन अधिकारीले मुलुकको कार्यवाहक प्रधानमन्त्री, दुई पटक उपप्रधानमन्त्री तथा विभिन्न मन्त्रालयको नेतृत्व सम्हाल्नुभएको थियो । विसं २०४७ पुस २२ गते नेकपा (माक्र्सवादी) र नेकपा (माले)का बीचमा एकीकरणमा उहाँले अहम् भूमिका निर्वाह गरेका थिए ।
नेपालको संविधान २०४७, अन्तरिम संविधान २०६३ तथा नेपालको संविधानमा नेता अधिकारीको योगदान महत्वपूर्ण रहेको थियो । नेता अधिकारीले अर्थमन्त्री हुँदाका समयमा ल्याएका ‘आफ्नो गाउँ आफँै बनाऔँ’, ज्येष्ठ नागरिक भत्ताजस्ता कार्यक्रम अति लोकप्रिय रहेका छन् ।
देउवाद्वारा दुःख व्यक्त
कांग्रेससभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भरतमोहन अधिकारीको निधनले आफूलाई दुःखित तुल्याएको बताएका छन् । सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत पुराना नेता श्रद्धेय अधिकारीको बिदाइसँगै मुलुकले एक असल र अनुभवी राजनीतिज्ञ गुमाएको र आफूले व्यक्तिगत रुपमा एक सहृदयी मित्र गुमाएको बताए ।
‘पञ्चायतको अन्त्य र प्रजातन्त्र स्थापनाका लागि अनवरत सङ्घर्षमा उनको भूमिकासँगै यो क्षण म राजनीतिक सहकार्यको संस्कृति निर्माणमा उनले पु¥याएको योगदान स्मरण गरिरहेको छु,” विज्ञप्तिमा भनिएको छ ।
सभापति देउवाले नेता अधिकारीको निधनप्रति व्यक्तिगत एवं पार्टीका तर्फबाट गहिरो शोक व्यक्त गर्दै नेकपा पार्टी र उनको परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।
प्रतिक्रिया