काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री रवीन्द्र अधिकारीसँग सरोकार नै नभएको वाइडबडीको सन्दर्भ जोडेर अत्यन्तै अनुचित ढङ्गले बदनाम गर्न खोजिएको बताए ।
“अत्यन्तै अनुचित ढङ्गले वाइडबडीसँग जोडर बदनाम गर्न खोजियो, जो सम्पूर्ण रुपमा निराधार कुरा हो”, प्रधानमन्त्री ओलीले भने, “कुनै लोभलालचका लागि होइन, वाइडबडी उहाँ मन्त्री हुनुभन्दा अगाडि कै कुरा हो ।”
प्रधानमन्त्री ओलीले देशमा सत्य उजागर हुन नदिने र असत्यको हल्ला चलाएर सत्यलाई ढाकछोप गर्ने काम भएको उल्लेख गर्दै भने, “राम्रो कामका लागि प्रोत्साहित नगर्ने कार्यप्रति दुःख लाग्छ, उहाँजस्तो कर्मठ क्रियाशील मानिसलाई अनुचित ढङ्गले अरोप लाञ्छाना लगाउने काम पनि भयो ।”
मन्त्री अधिकारीले संस्कृतिका क्षेत्रमा पनि थुप्रै काम गरेको उल्लेख गर्दै उनले मुक्तिनाथ, पशुपतिनाथ, लुम्बिनी, जनकपुरजस्ता ठाउँहरुलाई विकास गर्न सकिने भनेर योजना बनाइरहेको आफूलाई सुनाएको जनाकारी दिए । पर्यटकीय प्रवद्र्धन गर्नका लागि सन् २०२० लाई पर्यटन वर्ष मनाउने आगामी वैशाख १ गतेदेखि बुटिक एयरपोर्टको काममा पनि मन्त्री अधिकारीले धेरै अगाडि बढाइसकेको बताए ।
प्रधानमन्त्री ओलीले नेपालको पर्यटन क्षेत्रको प्रतिष्ठित व्यक्तित्व तथा हवाई सेवाको क्षेत्रमा, पर्यटन क्षेत्रमा असाधरण योगदान गरेका आङछिरिङ शेर्पा, सफल इञ्जिनीयर नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक श्रेष्ठ, प्राधिकरणका निर्देशक भोछिभोय, उपसचिव दाहाल, क्याप्टेन केसी, मन्त्री अधिकारीका निजी सुरक्षाकर्मी घिमिरेप्रति श्रद्धाञ्जलि व्यक्त गरे ।
‘परिवारलाई अलपत्र हुन दिँदैनौं’
प्रधानमन्त्री ओलीले अप्रत्याशित रुपमा हेलिकप्टर दुर्घटनामा परेका केही परिवारको आर्थिक अवस्था कमजोर भएको हुँदा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
“केही परिवारको श्रीमान्कै कमाईमा जीविका चलाइरहेका, कोठाभाडा तिरिरहेका, छोराछोरी पढाइरहेका देखियो”, प्रधानमन्त्री ओलीले भने, “सरकारले ती परिवारलाई अलपत्र हुन दिँदैन, बालबालिका पढाउन आवश्यक सहयोग गर्छ ।”
प्रतिक्रिया