मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाप्रति कांग्रेसद्वारा शोक प्रकट

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाप्रति कांग्रेसद्वारा शोक प्रकट


काठमाडौं । नेपाली कांग्रेसले ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत सात जनाले जीवन गुमाएकामा गहिरो दुःख व्यक्त गरेको छ । 
 
पार्टी सभापति शेरबहादुर देउवाले शोक वक्तव्य जारी गरी विद्यार्थी जीवनदेखि सङ्घर्ष गरेर अघि बढेका मन्त्री अधिकारी नेपाली राजनीतिका उदीयमान युवा नेताका अलावा व्यक्तिगतरुपमा भद्र र सुयोग्य रहेको बताएका छन् । 
 
सभापति देउवाले मन्त्री अधिकारीको असामयिक निधन भएकोमा नेपाल सरकार, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र उनको परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । 
 
यस्तै, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको निधनबाट मुलुकले एक सफल पर्यटन व्यवसायी गुमाएको छ भने यो दुःखद घटनामा नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक ध्रुव भोछिभोया, उपसचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधनले अत्यन्तै दुःखी बनाएको उनले समवेदना सन्देशमा उल्लेख गरेका छन् । 
 
दुर्घटनामा ज्यान गुमाएका सबैको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा शोक सहने शक्तिका लागि भगवान्सँग प्रार्र्थना गर्दै पार्टीले दुर्घटनाको कारण पत्ता लगाउन सरकारसँग आग्रह गरेको छ । 
 
यसैबीच,  विवेकशील साझा पार्टीले हेलिकप्टर दुर्घटनामा परी पर्यटन तथा नागरिक उड्ययनमन्त्री अधिकारीसहित सात जनाको निधन भएको खबरले पार्टी स्तब्ध भएको जनाएको छ । दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भनी कामना गरिएको सो पार्टीका प्रवक्ता सूर्यराज आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
 
यसैबीच, गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको निधनप्रति दुःख व्यक्त गरेका छन् । 
 
प्रदेश प्रमुख कुँवरले शोक वक्तव्य जारी गर्दै ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मन्त्री अधिकारीसहित सबैको आत्माको चिरशान्तिको कामना गरेका छन् । 
 
शोक वक्तव्यमा शोकाकुल परिवारजन, आफन्त, इष्टमित्रप्रति समवेदना व्यक्त गर्दै ईश्वरले धैर्यधारण गर्नसक्ने शक्ति प्रदान गरुन् भन्ने उनले कामना गर्दै घटनामा तदारुकताका साथ उद्धारमा खटिने सुरक्षाकर्मी, स्थानीय बासिन्दा सबैलाई धन्यवादसमेत दिएका छन् ।